चार सिट, सुनौलो लोगो र हजार किलोमिटर रेन्ज, बीवाईडीको ‘अल्टियर’ले विश्व अटोबजार ततायो
विश्वको अति महँगो लक्जरी कार बजारमा चिनियाँ प्रभाव बढाउँदै बीवाईडीले चार सिटे विद्युतीय सेडान ‘अल्टियर’ सार्वजनिक गरेको छ। यसले ब्रिटिश प्रिमियम कार ब्राण्ड रोल्स रोयसलाई चुनौती दिने अपेक्षा गरिएकाे छ ।
काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन उत्पादक बीवाईडीले अति महँगा लक्जरी कारको बजारमा बलियो उपस्थिति जनाउने उद्देश्यसहित नयाँ सेडान ‘अल्टियर’ सार्वजनिक गरेको छ। कम्पनीको प्रिमियम उपब्रान्ड याङवाङअन्तर्गत ल्याइएको यो गाडीको चिनियाँ नाम ‘डिङयाओ’ राखिएको छ।
संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित एमिरेट्स प्यालेसमा गत नोभेम्बर ७ मा आयोजित विशेष समारोहमा यसको विश्वव्यापी अनावरण गरिएको हो।
यो गाडी सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय अटोमोबाइल जगत्मा यसको बनावट, भित्री सुविधा, ब्याट्री क्षमता र सम्भावित मूल्यबारे बहस सुरु भएको छ। दशकौंदेखि लक्जरी सेडानमा वर्चस्व जमाइरहेका रोल्स रोयस र मर्सिडिज–मेब्याकजस्ता ब्रान्डको गढमा चिनियाँ कम्पनीले कत्तिको प्रभाव पार्न सक्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
तीन वर्षको तयारी र ‘डिङ’को प्रेरणा
अल्टियरको अवधारणा र निर्माणमा बीवाईडीले तीन वर्षभन्दा बढी समय लगाएको बताएको छ। यसको डिजाइनको नेतृत्व बीवाईडीका डिजाइन निर्देशक वोल्फगाङ एगरले गरेका हुन्।
अडी, अल्फा रोमियो र लेम्बोर्गिनीजस्ता चर्चित ब्रान्डमा काम गरिसकेका एगरले प्राचीन चिनियाँ सभ्यताको ऐतिहासिक कांस्य भाँडो ‘डिङ’लाई मुख्य प्रेरणा बनाएर गाडीको स्वरूप तयार पारेका हुन्। प्राचीन चीनमा डिङलाई शक्ति, प्रतिष्ठा र सन्तुलनको चिनो मानिन्थ्यो।
कम्पनीका अनुसार गाडीको अघिल्लो भागको खाका कोर्न मात्रै एक सयभन्दा बढी डिजाइनमा काम गरिएको थियो। ल्याटिन भाषामा ‘अल्टियर’को अर्थ ‘अझ उच्च’ हुने भएकाले विलासिताको नयाँ मानक बनाउने लक्ष्यसहित यही नाम रोजिएको जनाइएको छ।
विशाल आकार, चार सिट र कोच डोर

बाहिरी बनावट र नापका हिसाबले अल्टियर निकै ठूलो छ। यो सेडान पाँच हजार ६०० मिलिमिटर लामो, दुई हजार ३० मिलिमिटर चौडा र एक हजार ५९० मिलिमिटर अग्लो छ भने यसको ह्विलबेस तीन हजार ५०० मिलिमिटर छ। यति फराकिलो भए पनि यसमा पाँच वा सात सिटको सट्टा चार सिट मात्र राखिएको छ, जसले चालकसहित चार जनालाई निजी विमानको यात्राझैँ सहज महसुस गराउने दाबी गरिएको छ।
गाडीको ढोका खोल्ने शैलीले पनि धेरैको ध्यान खिचेको छ। अघिल्ला ढोका ८० डिग्रीसम्म र पछिल्ला ढोका ९० डिग्रीसम्म खुल्छन्। पछाडिका ढोका पछाडितर्फ जोडिएका छन्, जसलाई अटोमोबाइल क्षेत्रमा ‘कोच डोर’ भनिन्छ।
रोल्स रोयसका गाडीमा देखिने यस्तै ढोकाभित्र छाता राख्ने छुट्टै खण्डसमेत बनाइएको छ। अघिल्लो ग्रिलमा प्रकाशको कोणअनुसार फरक चमक दिने १३७ वटा सजावटी तत्व जडान गरिएका छन् भने लोगोमा २४ क्यारेट सुन प्रयोग गरिएको विवरण सार्वजनिक भएको छ।
विमानस्तरको आराम र भित्री सजावट
अल्टियरको भित्री भागलाई आराम र प्रविधिको संयोजनका रूपमा तयार पारिएको छ, जसमा पछाडि बस्ने यात्रुलाई केन्द्रमा राखिएको छ। पछाडिका दुवै सिटलाई ‘जिरो ग्राभिटी सिट’ अवधारणामा बनाइएको छ, जसमा खुट्टा अड्याउने सुविधासँगै चारवटा मसाज बल भएको मेकानिकल मसाज प्रणाली छ।
‘रिल्याक्सेसन मोड’ सक्रिय गर्दा सिट ढल्किने, खुट्टा राख्ने भाग माथि उठ्ने, झ्यालका पर्दा लाग्ने, भित्री बत्ती मधुरो हुने र मसाज सुरु हुने व्यवस्था मिलाइएको छ। अगाडिको बायाँ सिटलाई एकैपटक फोल्ड गरेर पछाडि दायाँ बस्ने यात्रुलाई अझ खुला दृश्य हेर्न मिल्ने बनाइएको छ।
मनोरञ्जन र सञ्चारका लागि छतमा २१.४ इन्चको स्क्रिन राखिएको छ, जसबाट चलचित्र हेर्न र भिडियो कन्फरेन्स गर्न सकिन्छ। पछाडिका सुविधा नियन्त्रण गर्न छुट्टै कन्ट्रोल कन्सोल दिइएको छ। ध्वनिका लागि डाइनअडियोको प्लाटिनम एभिडेन्स सिरिजअन्तर्गत ३९ वटा स्पिकर जडान गरिएका छन्, जसमा गाडी स्टार्ट गर्दा केही ट्वीटर आफैँ उठ्ने र घुम्ने विशेषता छ।
अगाडि र पछाडि गरी दुईवटा फ्रिज राखिएका छन्, जसमध्ये पछाडिको ५.५ लिटर क्षमताको फ्रिजमा तातो र चिसो दुवै तापक्रम मिलाउन सकिन्छ।
भित्री सजावटमा सेमी–एनिलिन छाला, प्राकृतिक ऊनको कार्पेट, विशेष काठ, हावा निस्कने स्थानमा पहेँलो हेटियन जेड पत्थर र सिटमा परम्परागत चिनियाँ सुचौ रेशमी कढाइ प्रयोग गरिएको छ। भित्र ११ स्थानमा ४८ वटा गहनाजस्ता सजावटी सामग्री राखिएका छन् भने धातुका स्विच र बटनको आवाज तथा स्पर्श परीक्षण गर्न विकासकै क्रममा ससाना हथौडाले ठोकेर हेरिएको कम्पनीले जनाएको छ।

चार मोटर, हजार किलोमिटर
प्राविधिक रूपमा अल्टियर बीवाईडीको ई–फोर प्लेटफर्ममा आधारित छ। यसमा चारवटा छुट्टाछुट्टै विद्युतीय मोटरले चारै पाङ्ग्राको शक्तिलाई स्वतन्त्र रूपमा नियन्त्रण गर्छन्। सेकेन्डमा सय पटकभन्दा बढी शक्ति वितरण समायोजन गर्न सक्ने यो प्रणालीले तीव्र गतिमा एउटा टायर फुटे पनि गाडीलाई सन्तुलनमा राख्न सघाउने कम्पनीको दाबी छ।
यसमा बीवाईडीको दोस्रो पुस्ताको ब्लेड ब्याट्री जडान गरिएको छ, जसले चिनियाँ सीएलटीसी मापदण्डअनुसार एकपटकको पूरा चार्जमा एक हजार किलोमिटरभन्दा बढी दूरी तय गर्ने बताइएको छ। फ्ल्यास चार्जिङ सुविधा र सडकको अवस्थाअनुसार आफैँ मिलाउन सकिने पूर्ण सक्रिय बडी कन्ट्रोल सस्पेन्सन पनि यसमा छ।
आफ्नै ठाउँमा घुम्न सक्ने ‘ट्यांक टर्न’, आपत्कालीन अवस्थामा पानीमा तैरिन सघाउने प्रविधि र सहर, राजमार्ग तथा पार्किङमा सघाउने ‘गड्स आई’ चालक सहायता प्रणाली यसका थप विशेषता हुन्। यद्यपि मोटरको कुल शक्ति, टर्क, शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिने समय र ब्याट्रीको कुल क्षमताजस्ता विवरण भने कम्पनीले अझै सार्वजनिक गरेको छैन।
मूल्य र प्रतिस्पर्धा
अल्टियरको पहिलो सीमित संस्करण ‘सान्हे डिङयुन’को अग्रिम बुकिङ मूल्य चीनमा २० लाख ८० हजार युआन तोकिएको छ। यो रकम करिब तीन लाख ११ हजार ५०० अमेरिकी डलर वा नेपाली रुपैयाँ करिब चार करोड ६० लाख बराबर हुन्छ। यद्यपि यो अग्रिम बुकिङको मूल्य मात्र हो र अन्तिम मूल्य घोषणा हुन बाँकी छ।
पहिलो संस्करण विश्वभर जम्मा ३९९ वटा मात्र उत्पादन गर्ने योजना छ, जसका लागि चीनमा तीन लाख युआन (करिब ४५ हजार अमेरिकी डलर) धरौटी राख्नुपर्नेछ। यो सेडानले मुख्यतः रोल्स रोयस घोस्ट, मर्सिडिज–मेब्याक एस क्लास र बेन्टले फ्लाइङ स्परसँग प्रतिस्पर्धा गर्ने देखिएको छ।
चिनियाँ बजारमा म्याक्स्ट्रो एस पनि यसको प्रतिस्पर्धीका रूपमा रहेको छ भने मूल्य र विलासिताका हिसाबले रोल्स रोयस फ्यान्टमको बजारसम्मै पुग्ने लक्ष्य राखिएको छ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया
अटोकार, कार एन्ड ड्राइभर र अटोकार इन्डियाजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अल्टियरलाई बीवाईडीको अहिलेसम्मकै महत्त्वाकांक्षी लक्जरी परियोजनाका रूपमा विश्लेषण गरेका छन्। कोच डोर, चार सिटे लेआउट, ३९ स्पिकरको अडियो र चिनियाँ सांस्कृतिक झल्कोलाई धेरैले सकारात्मक रूपमा लिएका छन्।
यद्यपि बाहिरी स्वरूपमा रोल्स रोयसको प्रभाव स्पष्ट देखिने भएकाले यसले छुट्टै र मौलिक चिनियाँ लक्जरी पहिचान कत्तिको बनाउन सक्छ भन्ने प्रश्न पनि उठेको छ।
याङवाङ ब्रान्डमार्फत यू ७ सेडान, यू ८ एसयूभी र यू ९ सुपरकार ल्याइसकेको बीवाईडीका लागि अल्टियर लक्जरी सेडानको उच्च तहमा प्रवेश गर्ने अर्को महत्त्वपूर्ण कदम बनेको छ।

















