चितवनमा भएको आयोन वाई प्लस आगलागीको कारण बाह्य प्रज्वलन स्रोत भएको जीएसीको निष्कर्ष
काठमाडौँ। चितवनमा भएको आयोन वाई प्लस विद्युतीय गाडीको आगलागी घटनामा गाडीको ब्याट्री वा विद्युतीय प्रणालीमा कुनै समस्या नदेखिएको जीएसी इन्टरनेसनलको अध्ययनले देखाएको छ। अनुसन्धानअनुसार उक्त आगलागी ब्याट्री वा विद्युतीय प्रणालीसँग नजोडिएको बाहिरी स्रोतबाट लागेको हो।
सीजी मोटर्स प्रालिले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार सन् २०२६ सेप्टेम्बर ११ मा चितवनमा घटेको उक्त घटनालाई जीएसी इन्टरनेसनल कम्पनी लिमिटेडले गम्भीरतापूर्वक लिँदै तुरुन्तै अनुभवी प्राविधिक टोली खटाएर छानबिन गरेको थियो।
अनुसन्धानको मुख्य निष्कर्षहरू यस्ता छन्:
१. ब्याट्रीमा कुनै समस्या नरहेको : अनुसन्धानका क्रममा सवारीसाधनको ट्र्याक्सन ब्याट्री सामान्य अवस्थामा रहेको पाइएको छ। ब्याट्रीको माथिल्लो तथा तल्लो आवरण र प्रेसर रिलिफ डिस्कसमेत सुरक्षित अवस्थामा रहेको पुष्टि भएको छ । यसले आगलागीको स्रोत ब्याट्री नभएको निष्कर्षलाई पुष्टि गर्छ।
२. सर्ट सर्किट भएको कुनै प्रमाण नभेटिएको : सवारीसाधनका वायरिङ हार्नेस तथा बरामद गरिएका विद्युतीय उपकरणहरूको विस्तृत परीक्षण गर्दा सर्ट सर्किटका कारण तार पग्लिएको, विद्युतीय क्षति भएको वा तार जलेर प्वाल परेको कुनै संकेत फेला परेको छैन ।
३. सवारीसाधनको प्रणालीमा कुनै खराबी पहिचान नभएको : अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा सवारीसाधनका विद्युतीय पार्टपुर्जा वा प्रणालीमा रहेको कुनै अन्तर्निहित उत्पादनगत त्रुटि वा खराबीका कारण आगलागी भएको हुन सक्ने सम्भावना पनि देखिएन । प्रतिवेदनले आगलागी सवारीसाधनको ब्याट्री वा विद्युतीय प्रणालीसँग असम्बन्धित बाह्य प्रज्वलन स्रोतबाट सुरु भएको निष्कर्ष निकालेको छ ।
विश्वव्यापी रूपमा झन्डै तीन करोड सवारीसाधन उत्पादन गरिसकेको दाबी गर्दै जीएसी इन्टरनेसनलले आफू अन्तर्राष्ट्रिय सुरक्षा र गुणस्तरका मापदण्डअनुसार चल्दै आएको जनाएको छ। नेपालमा बिक्री हुने जीएसीका गाडीहरूमा पनि तिनै विश्वव्यापी मापदण्ड लागू भएको कम्पनीको भनाइ छ। कम्पनीले गाडीको गुणस्तर, विश्वसनीयता र सुरक्षामा उच्च मापदण्ड कायम राख्ने प्रतिबद्धता दोहोर्याउँदै यस प्रकरणमा सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय गरिरहने स्पष्ट पारेको छ।

















