९ कार्तिक २०८३, सोमबार

एनपीएलको तेस्रो संस्करणबाट करिब डेढ अर्बको आर्थिक कारोबार हुने, प्रायोजनबाट मात्रै २० करोड उठ्ने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा करिब ७५ कराेड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिताका क्रममा क्यान र फ्रेन्चाइज टोलीहरूले गर्ने खर्च तथा आम्दानीलाई जोड्दा उक्त परिमाणको कारोबार हुने अपेक्षा गरिएको हो ।

क्यानका कोषाध्यक्ष पदम खड्काले आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपीएलको प्रायोजन, टिकट बिक्री तथा अन्य स्रोतबाट ७० देखि ७५ करोड रुपैयाँसम्म र्थिक कारोबार हुने अनुमान सार्वजनिक गरेका हुन्। जसमा प्रायोजनबाट करिब २० करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ ।

फ्रेन्चाइज टोलीका मालिकहरूले पनि क्यानले गर्ने खर्चकै हाराहारीमा रकम खर्च गर्ने अनुमान रहेको उनको भनाइ छ । यही आधारमा प्रतियोगिताको करिब एक महिनाको अवधिमा समग्र आर्थिक कारोबार डेढ अर्ब रुपैयाँसम्म पुग्न सक्ने उनले बताए ।

यसैबीच, एनपीएलको तेस्रो संस्करणमा टोलीहरूले प्राप्त गर्ने पुरस्कार राशि पनि बढाइएको छ । प्रतियोगिताको उपाधि जित्ने टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो हुने टोलीले ८० लाख रुपैयाँ प्राप्त गर्दा तेस्रो र चौथो स्थानमा रहने टोलीले क्रमशः ४० लाख र ३० लाख रुपैयाँ पाउनेछन् ।

खड्काका अनुसार एनपीएलका अघिल्ला दुई संस्करणमा पनि टोलीगत तथा व्यक्तिगत पुरस्कारको व्यवस्था गरिएको थियो । यसपटक भने एनपीएल गभर्निङ काउन्सिलको सुझाव र क्यान अध्यक्षको सहमतिमा पुरस्कार रकम निर्धारण गरिएको हो ।

नेपाली क्रिकेटलाई आर्थिक रूपमा बलियो बनाउने र क्यानको वर्तमान कार्यकाललाई उपलब्धिमूलक बनाउने उद्देश्यका साथ संघको नेतृत्वले काम गरिरहेको पनि खड्काले बताए ।