९ कार्तिक २०८३, सोमबार

सर्बियाली चुनावमा ठूलो उलटफेर: राष्ट्रपति भुसिकले माने हार, विद्यार्थीहरूको हातमा सत्ताको साँचो



सर्बियामा दुई वर्षको कडा विद्यार्थी आन्दोलन र ऐतिहासिक मतदानपछि राष्ट्रपति अलेक्जान्डर भुसिकले चुनावमा हार स्वीकार गर्दै सत्ता छाड्ने घोषणा गरेका छन् ।

काठमाडाैँ । सर्बियामा आइतबार सम्पन्न ऐतिहासिक निर्वाचनमा विद्यार्थीहरूको नेतृत्वमा चलेको आन्दोलनसमक्ष राष्ट्रपति अलेक्जान्डर भुसिकले हार स्वीकार गरे। यससँगै बाल्कन क्षेत्रको यो मुलुकमा उनको लामो समयदेखिको सत्ता पकड अन्त्य भयो भने नयाँ राजनीतिक युगको सुत्रपात भएकाे छ ।

एक पपुलिस्ट तथा राष्ट्रवादी नेताका रूपमा परिचित भुसिकले सन् २०१४ देखि प्रधानमन्त्री वा राष्ट्रपतिका रूपमा सर्बियाको राजनीतिमा एकछत्र राज गरेका थिए। तर, नोभी साद सहरमा सन् २०२४ मा रेल स्टेसनको छाना खस्दा १६ जनाको ज्यान गएको घटनापछि उत्पन्न भ्रष्टाचार र बढ्दो अधिनायकवादविरुद्ध गत दुई वर्षदेखि विद्यार्थीहरूको नेतृत्वमा ठूलो प्रदर्शन हुँदै आएको थियो। सोही जनदबाबका कारण उनले गत सेप्टेम्बरमा मध्यावधि निर्वाचन घोषणा गरेका थिए।

टेलिभिजन सम्बोधनमार्फत आफ्नो हार स्वीकार गर्दै भुसिकले स्पष्ट रूपमा आफूहरूले निर्वाचन हारेको र ‘स्टुडेन्ट लिस्ट’ले जितेको बताए। उनको यो घोषणा लगत्तै राजधानी बेलग्रेडका सडकहरूमा खुसियाली छायो। सहरका मुख्य सडकहरूमा हजारौँ मानिसहरूको भिड जम्मा भयो, गाडीहरूले हर्न बजाए, मानिसहरूले नाचगान गरे र विद्यार्थीहरूले ‘विजय’ तथा ‘उनी समाप्त भए’ भन्दै नाराबाजी गरे।

करिब ६० लाख जनसङ्ख्या भएको यो देशमा विद्यार्थीहरूको यो जितले गहिरो राजनीतिक परिवर्तन ल्यायो। यो घटनाले गत अप्रिलमा हङ्गेरीमा भिक्टर ओर्बानले व्यहोरेको पराजयको झल्को दिन्छ। साथै, खराब शिक्षा प्रणाली र भविष्यको अनिश्चितताबविरुद्ध हालका साताहरूमा हिंसात्मक रूपसमेत लिएर सडकमा उत्रिएका युरोपका अन्य विद्यार्थी आन्दोलनहरूका लागि पनि यसले एउटा नयाँ मार्गदर्शन प्रदान गर्न सक्छ।

प्रारम्भिक नतिजाअनुसार २५० सदस्यीय संसद्मा विद्यार्थीहरूले १३५ देखि १४० सिट जिते भने भुसिकको सर्बियाली प्रोग्रेसिभ पार्टी (एसएनएस) ले १०५ सिट मात्र प्राप्त गर्‍यो। बेलग्रेड विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूको मुख्यालयबाट बोल्दै राडोमिर साजिसिकले भने, “प्रिय सर्बिया, आज राति जनताको आवाज सुनिएको छ।” उनले थपे, “आज हामी विजयको उत्सव मनाउँदै छौँ, भोलि हामी भविष्य निर्माण गर्नेछौँ।”

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन देर लेयेन र युरोपेली विस्तार मामिला आयुक्त मार्टा कोससहित युरोपेली नेता तथा अधिकारीहरूले ‘स्टुडेन्ट लिस्ट’लाई यसको विजयमा बधाई दिए। भोन देर लेयेनले सामाजिक सञ्जाल एक्समा लेखे, “हामी युरोपेली सङ्घमा सर्बियाको भविष्यलाई अगाडि बढाउन सँगै काम गर्न तयार छौँ।” त्यस्तै, हङ्गेरीका प्रधानमन्त्री पिटर माग्इरले पनि विद्यार्थीहरूलाई आफ्नो देशको पूर्ण सहयोग रहने आश्वासन दिए।

रेकर्ड मतदान

निर्वाचनको दिन देशका विभिन्न सहरहरूमा मतदान केन्द्र बाहिर मतदाताहरूको लामो लाइन लागेको थियो। यहाँसम्म कि राष्ट्रपति भुसिकले पनि बेलग्रेडमा मतदान गर्न करिब दुई घण्टा प्रतीक्षा गर्नुपर्‍यो। जनमत सर्वेक्षण गर्ने संस्थाहरू र निर्वाचन आयोगले मतदान प्रतिशत करिब ७० प्रतिशत पुगेको जनाए, जुन सन् १९९२ मा युगोस्लाभियाको विघटन भएयताकै सबैभन्दा उच्च हो।

राेयटर्सले एकजना मतदाता क्याटारिना पेट्रोभिकलाइ उद्धृत गर्दै लेखेकाे छ, “मतदानले मलाई अचम्मित पार्न सकेन किनकि विगत दुई वर्षमा एउटा ठूलो र बलियो जनसमुदाय तयार भइसकेको थियो।” राष्ट्रपतिको दोस्रो कार्यकालबाट राजीनामा दिएर फेरि प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिएका भुसिक एक बलियो बहालवाला नेता थिए । विद्यार्थी आन्दोलनमा सक्रीयमध्ये थोरैले मात्रै उनले यति छिटो हार स्वीकार गर्नेछन् भन्ने सोचेका थिए।

उनका समर्थकहरूले सर्बियाको अर्थतन्त्रको आधुनिकीकरण गर्न तथा नयाँ राजमार्ग, रेलवे, विद्यालय र अस्पतालहरू निर्माण गर्नमा उनको महत्त्वपूर्ण योगदान रहेको श्रेय दिए। हार स्वीकार गर्दै भुसिकले भने, “केही व्यवसायी र केही मानिसहरूले हामीलाई छाडेर जानेछन्, तर हाम्रो संरचना निकै बलियो र एकजुट छ, हामी प्रतिपक्षमा बस्न बानी परेका छौँ।”

विद्यार्थी उम्मेदवारहरूको भविष्य

विद्यार्थी समर्थित उम्मेदवारहरूले कसरी काम गर्ने भन्ने विषयमा अझै धेरै कुरा स्पष्ट हुन बाँकी छ। उनीहरूको २५० जनाको उम्मेदवार सूचीमा अधिकांश अपरिचित व्यक्तिहरू छन्, जसमा विश्वविद्यालयका प्राध्यापकहरू, कलाकारहरू र कृषकहरू सामेल छन्। यो समूहको नेतृत्व मुटु रोग विशेषज्ञ इलिया सर्डानोभिकले गरे, जो भुसिकको घोषणापछि खुसीले भावुक बने।

तथापि, प्रधानमन्त्री बन्ने र भ्रष्टाचार उन्मूलित गर्ने तथा शिक्षा सुधार गर्ने विद्यार्थीहरूको घरेलु एजेन्डालाई कार्यान्वयन गर्ने व्यक्ति को हो भन्ने अझै स्पष्ट छैन। राजनीतिक विश्लेषकहरूले प्रहरी, सुरक्षा सेवा र मन्त्रालयहरूमा भुसिकका सहयोगीहरूको कुनै न कुनै प्रकारको शुद्धीकरण हुने अनुमान गरे। तर, विद्यार्थीहरूले आफ्नो अन्तर्राष्ट्रिय कूटनीतिक लक्ष्यका बारेमा भने अहिलेसम्म धेरै खुलाएका छैनन्।

भुसिकले वर्षौंसम्म गरेझैँ उनीहरूले पनि प्रमुख लगानीकर्ता चीन, सर्बियाको पारम्परिक मित्र तथा प्राकृतिक ग्यासको मुख्य आपूर्तिकर्ता रुस र सर्बियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार युरोपेली सङ्घसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्नेछ।

वारसास्थित निर्वाचन सल्लाहकार रादिभोये ग्रुजिसले बताए, “सबैभन्दा ठूलो अनिश्चितता सरकारको नेतृत्व कसले गर्ने, प्रमुख मन्त्रीहरू को हुने र भ्रष्टाचारविरुद्ध लड्ने, कानुनी शासन पुनर्स्थापना गर्ने तथा विदेश नीतिमा सर्बियाको स्थान पुनस्थापित गर्ने बाचा उनीहरूले कसरी पूरा गर्ने भन्नेमा रहेको छ।”

आन्दोलनको तीव्र दबाब

स्टेसनको दुर्घटनाबाट सुरु भएको विद्यार्थीहरूको सडक प्रदर्शन सुरुमा सानो भए पनि छोटो समयमै एक पुस्ताकै सबैभन्दा ठूलो आन्दोलनमा परिणत भयो र भुसिकलाई पद छाड्न माग गर्‍यो। मानव अधिकार समूह र कार्यकर्ताहरूले जनाए अनुसार त्यस अवधिदेखि दमन अझ बढेको थियो।

भुसिक र उनको पार्टी एसएनएसले दमन, भ्रष्टाचार र विरोधीहरूको जासुसी गरेको आरोपलाई बारम्बार अस्वीकार गरे। उनले विद्यार्थीहरूले क्रोएसिया र मोन्टेनेग्रोका विदेशी एजेन्टहरूबाट आर्थिक सहयोग प्राप्त गरेको दाबी गरे, जुन आरोपलाई विद्यार्थीहरूले खारेज गरे।

यसैबीच, बेलग्रेडका सडकहरूमा परम्परागत ब्रास ब्यान्ड बजिरहेको थियो भने “विद्यार्थीहरू च्याम्पियन हुन्” लेखिएको जर्सी लगाएका एक व्यक्तिसहितको समूहले विद्यार्थीहरूको उम्मेदवार सूचीको सङ्ख्या जनाउने नम्बर ३ आकारका बेलुनहरू उडाए। आफ्ना साथीहरूसँगै रहेकी एन्डजेला नामकी एक विद्यार्थीले भनिन्, “हामी विजयको खुसीमा बियर पिउनेछौँ, मात्तिनेछौँ, यो खुसी शब्दमा वर्णन गर्नै सकिँदैन।”

केन्द्रीय बैंकका पूर्व गभर्नर तथा ‘स्टुडेन्ट लिस्ट’का उम्मेदवार डेजान सोस्किसले मानिसहरूलाई शान्ति र सुव्यवस्था कायम राख्न आग्रह गरे र चुनावी प्रक्रियाका दौरान नागरिकको रूपमा सभ्य आचरण देखाएकोमा मतदाताहरूलाई धन्यवाद दिए।