१२ कार्तिक २०८३, बिहिबार

असोजमा मात्रै ९ अर्ब ४७ करोडका गाडी नेपाल भित्रिए, विद्युतीय गाडीको हिस्सा ७५ प्रतिशत



काठमाडौं । नेपाली बजारमा चाडपर्वको रौनक बढेसँगै सवारीसाधन आयात पनि उल्लेख्य देखिएको छ।

बडादशैँ र तिहारमा नयाँ गाडी किन्ने उपभोक्तालाई लक्षित गर्दै व्यवसायीहरूले चालु आर्थिक वर्ष २०८३/८४ को असोज १ महिनामा मात्रै कुल ९ अर्ब ४७ करोड रुपैयाँ बराबरको ५ हजार ५७ युनिट चार पङ्ग्रे गाडी आयात गरेका छन् ।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार असोज महिनामा नेपाल भित्रिएका गाडीमध्ये विद्युतीय सवारीसाधन (ईभी) को हिस्सा ७५ प्रतिशत रहेकाे छ। असोजमा ८ अर्ब ३५ करोड रुपैयाँ बराबरका ३ हजार ८०२ युनिट ईभी आयात भएका छन्।

यसैगरी, ७९ करोड रुपैयाँ बराबरका १ हजार ८३ युनिट पेट्रोल कार आयात भएका छन्। डिजेल इन्जिन भएका ८४ युनिट गाडीको आयात मूल्य १८ करोड ५० लाख रुपैयाँ रहेको छ।

यस्तै असोजमा ३ करोड ७८ लाख रुपैयाँ बराबरका ९ युनिट पेट्रोल हाइब्रिड गाडी तथा ११ करोड ५९ लाख रुपैयाँ बराबरका १३७ युनिट अन्य सवारीसाधन पनि आयात भएका छन्।

असोजमा आयात भएका चारपांग्रे यात्रुवाहक सवारीसाधनको कुल मूल्य ९ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। यसबाट सरकारले ७ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागको तथ्यांक छ।

अटोमोबाइल व्यवसायीहरूले नाइमा मोबिलिटी एक्स्पो तथा नाडा अटो शोमा बुकिङ भएका गाडीहरू ग्राहकलाई समयमै हस्तान्तरण गर्न यसरी ठूलो संख्यामा सवारीसाधन आयात गरेका हुन्। यद्यपि, गत भदौ १० गतेयता गएको बाढीपहिरोका कारण रसुवा नाका बन्द रहेको छ भने तातोपानी नाका पनि चीनतर्फबाट खुलाइएको छैन। यस्तो अवस्थामा चीनबाट मालवाहक गाडीहरू भित्र्याउनका लागि कोरोला नाका मात्र एकमात्र विकल्प बनेको छ।