विश्वको सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज बाइनान्स ह्याक हुँदा ६.३ अर्ब डलर लुटियो
काठमाडौं । विश्वको सबै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज ‘बाइनान्स’ मा ६ अर्ब डलरभन्दा बढी रकम चोरी भएकाे छ।
बाइनान्सका अनुसार यस घटनाबाट भएको अनुमानित कुल क्षति ६.३ अर्ब डलर रहेको छ। यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो क्रिप्टो ह्याक मानिएकाे छ।
एक्सचेन्जले एक विज्ञप्ति जारी गर्दै प्रभावित सम्पत्तिमध्ये करिब ३ अर्ब डलर फ्रिज गर्न साझेदारहरूसँग मिलेर काम गरिएको र प्रयोगकर्ताका रकमहरू सुरक्षित रहेको बताएको छ।
त्यस्तै, बाइनान्सले आफ्नो कोषबाट सबै नोक्सानी व्यहोर्ने घोषणा गरेको छ भने सुरक्षा जाँच पूरा नभएसम्म डिपोजिट (जम्मा) र विथड्रवल (निकासी) का कार्यहरू अस्थायी रूपमा स्थगित गरेकाे छ ।
एक जना डेभलप्स इन्जिनियरको ल्यापटप ह्याक (सम्झौता) भएका कारण आक्रमणकारीले अनधिकृत रूपमा रकम निकाल्न सफल भएकाे बाइनान्सले जनाएकाे छ।
ब्लकचेन र क्रिप्टोकरेन्सी बजारको अनुसन्धान तथा तथ्याङ्क विश्लेषण गर्ने अग्रणी प्लेटफर्म ग्लासनोडले यस ह्याकबाट एक्सचेन्जबाट १.६६ अर्ब डलर बराबरको स्थिर क्वाइन, करिब १.४५ अर्ब डलर मूल्य बराबरको १७ हजार ९८५ बिटक्वाइन, र ७६७ मिलियन डलर बराबरको युएसडीसी चोरी भएको जनाएकाे छ।
ह्याकको समाचार बाहिरिएसँगै बिटक्वाइन लगायत समग्र क्रिप्टो बजारमा गिरावट आएको छ। विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी ३% ले घटेर ७७ हजार ४५८.६ डलरमा पुगेको छ भने इथर ४.१% ले घटेर २ हजार २१६.६६ डलरमा झरेको छ।
बाइनान्सको आफ्नै नेटिभ टोकन बीएनबीले सुरुवाती घाटा केही कम गर्दै ४.८% को गिरावटमा कारोबार भइरहेको छ। ग्लासनोडका अनुसार एक्सचेन्जमा रहेको बीएनबीको ब्यालेन्स भने सुरक्षित रहेको छ।
क्रिप्टो बजारको यो गिरावटको असर क्रिप्टो स्टकहरूमा पनि परेको छ। अमेरिकी एक्सचेन्ज कोइनबेस ग्लोबल र बिटक्वाइन ट्रेजरी स्ट्रटेजीको सेयर मूल्यमा पनि कारोबारको पछिल्लो चरणमा भारी गिरावट आएको छ।















