अमेरिकामा मध्यावधि निर्वाचन आज: सत्तारूढ दलले सिट गुमाउने ‘ऐतिहासिक ट्रेन्ड’ तोड्ला त ट्रम्पको पार्टी ?
काठमाडौँ । संयुक्त राज्य अमेरिकामा सन् २०२६ को बहुप्रतीक्षित मध्यावधि निर्वाचन नोम्बर ३ अर्थात आज हुँदैछ। मतदान स्थानीय समयअनुसार बिहान ७ बजेदेखि अर्थात नेपाली समयअनुसार आज साँझ करिब ६ बजेदेखि सुरु हुनेछ।
यस निर्वाचनले अमेरिकी संसद् (कंग्रेस) को दुवै सदन र राज्यस्तरका सरकारहरूमा कुन दलको नियन्त्रण रहने भन्ने निर्णय गर्नेछ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको मध्यावधिमा हुन लागेको यस निर्वाचनलाई उनको नेतृत्व, नीति र भावी राजनीतिक दिशामाथिको ‘जनमत संग्रह’का रूपमा हेरिएको छ।
निर्वाचनको परिणामले आगामी दुई वर्षसम्म ह्वाइट हाउसको कार्यशैली, राष्ट्रिय बजेट पारित गर्ने प्रक्रिया र वैदेशिक नीतिहरूमा प्रत्यक्ष असर पार्ने हुनाले विश्वभर यसलाई निकै चासोका साथ हेरिएको हो।
यस पटकको निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन प्रतिनिधि सभाका कुल ४३५ वटै सिटमा प्रतिस्पर्धा हुँदैछ। तल्लो सदनमा बहुमत हासिल गर्नका लागि कुनै पनि दललाई कम्तीमा २१८ सिट आवश्यक पर्दछ। त्यसैगरी माथिल्लो सदन सिनेटका कुल १०० सिटमध्ये यसपटक ३५ सिट (३३ नियमित र २ विशेष) का लागि कडा प्रतिस्पर्धा हुँदैछ।
यसका साथै देशका ३६ वटा प्रमुख राज्यहरूमा नयाँ गभर्नर (राज्य प्रमुख) चयनका लागि पनि आजै मतदान हुँदैछ।
हाल अमेरिकी संसद्का दुवै सदनमा सत्तारूढ रिपब्लिकन पार्टीको बहुमत रहेको छ। विपक्षी डेमोक्रेटिक पार्टीका लागि तल्लो सदन (हाउस) मा नियन्त्रण बनाउन थप ३ सिट र सिनेटमा आफ्नो बहुमत सिद्ध गर्न थप ४ सिटको आवश्यकता पर्छ। यदि डेमोक्र्याटहरूले कुनै एक वा दुवै सदनमा जित हासिल गरेमा उनीहरूले राष्ट्रपति ट्रम्पका विभिन्न विधेयक, बजेट तथा कानुन निर्माणका प्रयासहरूलाई रोक्न सक्नेछन्।
सन् १९४६ देखि २०२२ सम्म भएका २० वटा मध्यावधि निर्वाचनमध्ये १८ वटामा ह्वाइट हाउस (सत्ता) मा रहेको दलले तल्लो सदनमा आफ्ना सिटहरू गुमाएको छ। यस अवधिमा सत्तारूढ दलले औसतमा २६ सिट गुमाउने गरेको तथ्याङ्क छ।
केवल सन् १९९८ मा बिल क्लिन्टनको डेमोक्र्याटिक पार्टी र सन् २००२ मा जर्ज डब्लु बुसको रिपब्लिकन पार्टीले मात्र यो ऐतिहासिक ट्रेन्डलाई तोड्दै सिट बढाउन सफल भएका थिए।
संसद्मा नियन्त्रण गुमाउनुको अर्थ के हो ?
सन् १९४६ यता भएका २० मध्ये १३ वटा मध्यावधि निर्वाचनमा सत्तारूढ दलले सिनेटको सिट गुमाएको छ भने ६ वटा निर्वाचनमा सिनेटको नियन्त्रण नै गुमेको थियो।
संसद्मा केही सिट मात्र गुमाउनु र सम्पूर्ण संसद्को नियन्त्रण नै गुमाउनु नितान्त भिन्न कुरा हुन्। जस्तै, सन् १९६६ मा लिन्डन जोन्सनका डेमोक्र्याटहरूले ४७ सिट गुमाउँदा पनि आफ्नो बहुमत जोगाएका थिए भने, सन् १९८६ मा रेगनका रिपब्लिकनहरूले केवल ४ सिट गुमाउँदा पनि सिनेटको नियन्त्रण गुमाउनुपरेको इतिहास छ।
अमेरिकी संसद्को कुन सदनमा कुन दलको बहुमत छ भन्ने कुराले नयाँ कानुन निर्माण र नीतिगत एजेन्डा तय गर्न मुख्य भूमिका खेल्छ। कुनै पनि विधेयक राष्ट्रपतिसमक्ष स्वीकृतिका लागि पठाउनुअघि दुवै सदनबाट पारित हुनुपर्ने भएकाले, यदि कुनै एक सदनमा विपक्षीको बहुमत भएमा राष्ट्रपतिका योजना तथा कार्यक्रमहरू सजिलै रोकिन सक्छन्।
त्यस्तै, तल्लो सदन (हाउस) मा बहुमत भएमा विपक्षी दलले राष्ट्रपतिमाथि छानबिन सुरु गर्ने वा महाभियोग लगाउने अधिकार पाउँछ भने, माथिल्लो सदन (सिनेट) मा बहुमत हुने दलले राष्ट्रपतिले सिफारिस गरेका संघीय न्यायाधीशसहितका उच्च अधिकारीहरूको नियुक्ति अस्वीकार गर्न सक्छ।
यसै सन्दर्भमा, यसपटक तल्लो सदनमा बहुमत ल्याउन डेमोक्र्याटहरूलाई थप ३ सिट र सिनेटमा बहुमतका लागि थप ४ सिट आवश्यक पर्ने देखिएको छ। यदि सिनेटमा ५०-५० सिटको बराबरी स्थिति सिर्जना भएमा उपराष्ट्रपति जेडी भेन्सले निर्णायक मत (टाई-ब्रेकर) दिन पाउने भएकाले सिनेटको अन्तिम नियन्त्रण रिपब्लिकनहरुकै हातमा रहनेछ।















