पर्वतीय विपद्को चपेटामा नेपाल र भुटान, के विपद् अघि ब्युँझिने छ विश्व समुदाय?
टर्कीमा जारी कोप-३१ सम्मेलनमा नेपाल र भुटानसहितका पर्वतीय मुलुकहरूले हिमालमा बढ्दो जलवायु सङ्कट र अपर्याप्त पूर्वतयारीप्रति गम्भीर असन्तोष प्रकट गर्दै तत्काल अन्तर्राष्ट्रिय सहयोग र ठोस कदमको माग गरेका छन्।
काठमाडाैँ । तुर्किए (टर्की) मा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-३१) का विभिन्न सत्रहरूमा अहिले हिन्दुकुश हिमालय क्षेत्रमा उत्पन्न गम्भीर पर्वतीय विपद्हरूलाई मुख्य बहसको विषय बनाइएको छ।
सम्मेलनमा सहभागी विज्ञ तथा सरकारी प्रतिनिधिहरूले हिमाल क्षेत्रमा देखिएका विनाशकारी घटनाहरूले बढ्दो जलवायु जोखिम र पूर्वतयारीको खट्किएको अवस्थालाई प्रस्ट्याएको भन्दै विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराएका छन्।
नेपाल र भुटानका प्रतिनिधिहरूका साथै इसिमोड र अन्तर्राष्ट्रिय क्रायोस्फर क्लाइमेट इनिसिएटिभ (आईसीसीआई) का वक्ताहरूले विश्वका अतिसंवेदनशील पर्वतीय भूभागमा जलवायुजन्य खतराहरू सोचेभन्दा धेरै तीव्र गतिमा अघि बढिरहेको चेतावनी दिएका छन्।
चेताउनी बन्दै गएका ताजा विपद्
हिमालय क्षेत्रमा देखिएका यस्ता जोखिमहरू कुनै अनुमानित वा टाढाको भविष्यका कुरा नरही वर्तमानकै टट्कारो यथार्थ बनिसकेका छन्। नेपालको रसुवामा केही महिनाअघि चट्टान र हिउँ खसेर आएको विनाशकारी बाढीले त्रिशूली उपत्यका र सीमा करिडोर क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो।
त्यसलगत्तै गोर्खा जिल्लामा पनि हिमपहिरोको घटना घटेको थियो भने भुटानको शिन्ताफु क्षेत्रमा आएको हिमताल फुट्ने बाढीले तल्लो तटीय क्षेत्रका सडक र पूर्वाधारहरूमा गम्भीर असर पुर्यायो। यी घटनाहरूलाई छुटपुट वा सामान्य प्राकृतिक प्रकोपका रूपमा नभई यस क्षेत्रका समुदाय, अर्थतन्त्र र पानीको सुरक्षामाथिको प्रत्यक्ष खतराका रूपमा बुझ्नुपर्नेमा वक्ताहरूले जोड दिए।
इसिमोडका महानिर्देशक डा. पेमा ग्याम्छोले हिमालयमा आउने विपद्हरूलाई चेतावनीको घण्टी भनिए पनि अब फेरिपछिको पछुतोभन्दा पनि ठोस र व्यावहारिक कदम चाल्ने बेला आइसकेको बताए।
विज्ञान र प्रविधिको सीमितता
वैज्ञानिकहरूले विपद् पूर्वको अवस्था बुझ्न नयाँ प्रविधिले सघाउन सक्ने तथ्य बाहिर ल्याएका छन्। रसुवाको घटनाअघि उपग्रहबाट गरिएको अवलोकनले लाङटाङ लिरुङको ढिरामा आएको हलचललाई केही हप्ता अगाडि नै सङ्केत गरेको थियो।
यसले जोखिमको पूर्वपहिचान गर्न आधुनिक निगरानी प्रणालीले सघाउने देखाए पनि लगानी र पूर्वतयारीबिना एक्लो विज्ञानले मानिसको जीवन बचाउन नसक्ने यथार्थ सतहमा आएको छ।
बाढीको पानी केही मिनेटमै सीमापार पुगेका कारण यस्ता पर्वतीय जोखिमहरू राष्ट्रिय सिमानामा मात्र सीमित नहुने प्रस्ट भएको छ। त्यसैले नदी बेसिन साझा गर्ने देशहरूबीच वास्तविक समयमा सूचना आदानप्रदान गर्ने परिष्कृत पूर्वसूचना प्रणाली र बलियो सहकार्यको खाँचो औंल्याइएको छ।
तापक्रम वृद्धिको सीमा
सम्मेलनमा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको हालैको प्रतिवेदन ‘ओभरसुट एन्ड द क्रायोस्फर’ का निष्कर्षहरूतर्फ पनि गम्भीर ध्यानाकर्षण गराइएको छ।
उक्त प्रतिवेदनले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा तल सीमित राख्न नसकिए हिउँ र बरफको अपरिहार्य क्षति हुने र त्यसले आउने पुस्ताका लागि जलस्रोत तथा पर्यावरणीय सङ्कट निम्त्याउने चेतावनी दिएको छ।
अन्तर्राष्ट्रिय क्रायोस्फर क्लाइमेट इनिसिएटिभकी निर्देशक पाम पियर्सनले हिउँ शून्य डिग्री तापक्रममै पग्लने शाश्वत सत्यलाई स्मरण गराउँदै तापक्रमको सीमा नाघ्नु भनेको विश्वको हिउँ प्रणालीका लागि गम्भीर आपत्काल हुनु हो भनिन्।
विश्वव्यापी औसतभन्दा पर्वतीय क्षेत्रमा तापक्रम तीव्र गतिमा बढेकाले यसै दशकमा चालिने कदमहरूले एसियाका हिमनदी र करोडौं मानिसको भविष्य निर्धारण गर्नेछन्।
पर्वतीय देशहरूको साझा आवाज
भुटान, नेपाल, किर्गिस्तान र ताजिकिस्तानले इसिमोडको सहकार्यमा हालै आयोजना गरेको उच्चस्तरीय संवादपछि भएको यस छलफलले पर्वतीय मुद्दाहरूले अन्तर्राष्ट्रिय मञ्चमा गति पाइरहेको देखाएको छ।
तर केवल औपचारिक मान्यताले मात्र जनतालाई सम्भावित विपद्बाट जोगाउन नसक्ने निष्कर्ष निकालिएको छ। भुटानका वातावरण तथा जलवायु परिवर्तन विभागका निर्देशक सोनाम तासीले शान्ति र प्रकृतिको प्रतीक मानिने हिमालय अहिले जलवायु परिवर्तनका कारण तीव्र सङ्कटमा परेको बताए।
नेपालका तर्फबाट कोप-३१ का प्रतिनिधि र अति कम विकसित देशहरूको समूहका प्रमुख सल्लाहकार मञ्जित ढकालले बहुपक्षीय प्रणालीले वर्तमान चुनौतीको स्तरअनुसार प्रतिक्रिया दिनुपर्ने र उपलब्ध स्रोतसाधन धेरै न्यून रहेको बताए।
अन्ततः पर्वतीय देशहरूले कुनै विशेष छुट वा सुविधा नभई जलवायु परिवर्तनको अग्रमोर्चामा भोगिरहेको तीतो यथार्थलाई विश्व समुदायले आत्मसात गर्नुपर्ने र त्यसैअनुसार तत्काल जलवायु वित्त, अनुकूलनका उपाय तथा उत्सर्जन कटौतीमा गम्भीर बन्नुपर्ने जोड दिइएको छ।















