२ मंसिर २०८३, बुधबार

बजार सुस्ताउँदा सिप्रदी ट्रेडिङको सञ्चालन आम्दानीमा गिरावट, नीतिगत परिवर्तन र चर्को प्रतिस्पर्धा मुख्य चुनौती



टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङको कारोबारमा संकुचन, निजी सवारीसाधनको बजार खुम्चिँदा सञ्चालन आम्दानी करिब पाँच प्रतिशतले घट्यो।

काठमाडाैँ । नेपालको अटोमोबाइल बजारमा लामो समयदेखि एकछत्र जस्तै प्रभाव जमाउँदै आएको सिप्रदी ट्रेडिङ प्रालिको वित्तीय विवरणमा केही सुस्तता देखिएको छ। पछिल्लो एक आर्थिक वर्षको कारोबारलाई नियाल्दा कम्पनीको मुख्य आम्दानीको पाटोमा सामान्य गिरावट आएको छ।

बजारमा बदलिँदो अटो शोख, प्रतिस्पर्धाको तीव्र दौड र सरकारी नीतिगत फेरबदलका बीच स्थापित व्यावसायिक घरानाको रूपमा रहेको यस कम्पनीको व्यापार केही खुम्चिन पुगेको हो।

प्राप्त वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा सिप्रदीको सञ्चालन आम्दानी कुल २२ अर्ब ९० करोड ३० लाख रुपैयाँमा सीमित भएको छ। यो आँकडा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ४ दशमलव ८९ प्रतिशतले कम हो। सो अवधिमा कम्पनीले २४ अर्ब ८ करोड २० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी हासिल गरेको थियो। यस हिसाबले एक वर्षको अन्तरालमा कम्पनीको आम्दानी १ अर्ब १७ करोड ९० लाख रुपैयाँले घटेको स्पष्ट हुन्छ।

सिप्रदीले विगतका वर्षहरूमा पनि आम्दानीमा विभिन्न आरोहवरोह पार गर्दै आएको छ। यसअघि आर्थिक वर्ष २०८०/८१ मा १८ अर्ब ५८ करोड ८० लाख र आव २०७९/८० मा १८ अर्ब ३० करोड ४० लाख रुपैयाँको हाराहारीमा कारोबार गरेको थियो।

त्यस्तै, महामारीअघि र त्यसपछिका केही वर्षहरूमा भने यसको कारोबार निकै उच्च थियो, जसमा आव २०७८/७९ मा २८ अर्ब ९५ करोड ५० लाख, आव २०७७/७८ मा २५ अर्ब ४१ करोड ९० लाख, आव २०७६/७७ मा १९ अर्ब ७० करोड ५० लाख र आव २०७५/७६ मा ३१ अर्ब ३ करोड ५० लाख रुपैयाँसम्मको सञ्चालन आम्दानी रेकर्ड भएको पाइन्छ।

बजारको पकड र टाटासँगको लामो सहकार्य

सन् १९७९ मा स्थापना भएको यो कम्पनी नेपालको व्यावसायिक अटोमोबाइल क्षेत्रको एक बलियो खम्बा मानिन्छ। काठमाडौंमा दर्ता कार्यालय रहेको सिप्रदीले सन् १९८२ देखि टाटा ब्रान्डका व्यावसायिक सवारीसाधन र त्यसको एक दशकपछि सन् १९९२ देखि निजी सवारीसाधनको बिक्री तथा वितरण गर्दै आएको छ।

गाडीको व्यापारसँगै यसले सन् २००० देखि एक्साइड ब्याट्री र सन् २००२ देखि म्याक लुब्रिकेन्ट्सको आधिकारिक कारोबार पनि सम्हाल्दै आएको छ।

देशभर आफ्ना १० वटा सोरुम र १४ वटा डिलर सञ्जाल फैलाएको यस समूहको मुख्य सेयर स्वामित्व र नेतृत्व सिद्धार्थशमशेर जबराको हातमा छ, जो समूहका अध्यक्ष हुन् भने कार्यकारी नेतृत्वको जिम्मेवारी सीईओ राजनबाबु श्रेष्ठले सम्हालिरहेका छन्।

सिप्रदी हायर पर्चेजमार्फत सवारीसाधन खरिदमा ग्राहकलाई वित्तीय सुविधासमेत जुटाउँदै आएको यो कम्पनीले व्यावसायिक सवारीसाधनको बजारमा अझै पनि करिब ६६ प्रतिशत हिस्सा ओगटेको दाबी गर्दै आएको छ।

तीव्र प्रतिस्पर्धाको चुनौती

गत वर्ष समग्र व्यावसायिक सवारीसाधनको बजार ६ प्रतिशतले फैलिए पनि निजी सवारीसाधनको बजार भने करिब २१ प्रतिशतले भारी रूपमा संकुचित भयो। यसरी निजी गाडीको बिक्रीमा आएको तीव्र गिरावटले समग्र सिप्रदीको कारोबारमा प्रत्यक्ष दबाब सिर्जना गरेको छ।

पछिल्लो समय अटो बजारमा चिनियाँ र अन्य अन्तर्राष्ट्रिय ब्रान्डहरूको बाढी नै आएको छ। विद्युतीय निजी सवारीसाधनको सेग्मेन्टमा बीवाईडी र एमजीजस्ता ब्रान्डसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ भने इन्धनबाट चल्ने कार तथा जिपहरूमा हुन्डाई, किया र सुजुकीको बलियो उपस्थिति छ।

त्यसमाथि, चालू आर्थिक वर्षदेखि विद्युतीय सवारीसाधनमा मूल्यमा आधारित कर प्रणाली लागू भएपछि तिनको मूल्य बढेको छ, जसले उपभोक्ताको मागलाई थप प्रभावित पार्ने देखिन्छ। गत वर्षसम्म कम्पनीको कुल सवारीसाधन बिक्री आम्दानीमा ईभी वा विद्युतीय गाडीको हिस्सा करिब ३९ प्रतिशत थियो।

त्यसैले मूल्य वृद्धिले भविष्यको कारोबारमा थप चुनौती खडा गर्न सक्ने देखिन्छ।

नीतिगत अड्चन र बदलिँदो प्रविधिको दबाब

व्यवसाय विस्तारका क्रममा सरकारी नियमहरू पनि कम्पनीका लागि केही हदसम्म परीक्षा बनेका छन्। गएको मे महिनादेखि नयाँ व्यावसायिक सवारीसाधनको आयात र दर्तामा तीन महिनासम्म अस्थायी रोक लगाइनुका साथै काठमाडौं उपत्यकाभित्र नयाँ सार्वजनिक निजी सवारीसाधन दर्तामा लगाइएको प्रतिबन्ध अझै कायम छ।

अर्कोतर्फ, बजारमा भित्रिरहेका अत्याधुनिक चिनियाँ विद्युतीय मोडलहरूले उपभोक्ताको प्राथमिकता बदल्दै लगेका छन्। हलुका व्यावसायिक गाडीदेखि छोटो दूरीका सार्वजनिक बसहरूसम्म विद्युतीय प्रविधिको आकर्षण बढेको छ।

यस्तो पृष्ठभूमिमा टाटा मोटर्सले समयमै प्रतिस्पर्धी र आधुनिक विद्युतीय मोडलहरू बजारमा उतार्न नसकेमा सिप्रदीको आगामी दिनको बजार हिस्सा थप प्रभावित हुन सक्ने जोखिम कायमै छ।

आफ्नो परम्परागत बलियो साखलाई बचाइराख्न कम्पनीले बैंक तथा वित्तीय संस्थाहरूबाट १३ अर्ब ७५ करोड रुपैयाँ बराबरको ऋण परिचालन गरेको छ।