३ मंसिर २०८३, बिहिबार

साइबर तथा डिजिटल ठगीमा परे तत्काल १२४७ मा सम्पर्क गर्न राष्ट्र बैंकको आग्रह



काठमाडौं। नेपाल राष्ट्र बैंकले कुनै पनि प्रकारको साइबर तथा डिजिटल वित्तीय ठगीमा परे तत्काल १२४७ हटलाइन नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै साइबर तथा डिजिटल ठगीसम्बन्धी घटना भएमा तत्काल जानकारी गराउन अनुरोध गरेको हो।

राष्ट्र बैंकका अनुसार साइबर तथा डिजिटल वित्तीय ठगीसम्बन्धी गुनासो तथा उजुरीको सम्बोधनका लागि प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोमा २४ सै घण्टा सञ्चालन हुने गरी एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको छ। उक्त केन्द्रमार्फत साइबर स्क्यामसम्बन्धी घटनाको उजुरी तथा जानकारी लिन १२४७ हटलाइन नम्बर सञ्चालनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले अनलाइन ठगी, फिसिङ, नक्कली लिङ्क, अनधिकृत कारोबार तथा डिजिटल भुक्तानीसम्बन्धी ठगीमा परे तत्काल १२४७ मा सम्पर्क गरी जानकारी वा उजुरी गर्न आग्रह गरेको हो। साथै, उक्त नम्बरबाट प्राप्त जानकारीबमोजिम आवश्यक प्रक्रिया अवलम्बन गर्न पनि अनुरोध गरेको छ।

त्यसैगरी, ठगी भएको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई बैंक खाता तथा डिजिटल वालेट सुरक्षित राख्न आवश्यक पहल गर्न राष्ट्र बैंकले सुझाव दिएको छ।

डिजिटल कारोबारको बढ्दो प्रयोगसँगै साइबर तथा वित्तीय ठगीका जोखिमसमेत बढिरहेका बेला राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत रहन र ठगीमा परे ढिलाइ नगरी सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको हो।