रेमिट्यान्समा नयाँ कीर्तिमान : तीन महिनामै भित्रियो ७ खर्ब ३ अर्ब
काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) ले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।
एकै महिनामा भित्रिएको यो रकम हालसम्मकै उच्च हो । यसअघि गत वैशाख महिनामा २ खर्ब ५७ अर्ब रुपैयाँ भित्रिएर उच्च रेकर्ड कायम भएको थियो । विशेषगरी दसैँ–तिहारजस्ता ठूला चाडबाड र रसुवा बाढीका कारण विदेशमा रहेका नेपालीले घरमा पठाउने रकम बढाउँदा असोजको रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि देखिएको हो ।
राष्ट्र बैंकको विवरणअनुसार चालु आवको पहिलो त्रैमास (साउन–असोज) सम्ममा कुल रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले उकालो लाग्दै ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही तीन महिनाको अवधिमा भने विप्रेषण वृद्धिदर ३५.४ प्रतिशत रहेको थियो ।
२०८३ असोजमा रेमिट्यान्स आप्रवाह २ खर्ब ६७ अर्ब ३४ करोड छ। भदौमा २ खर्ब २१ अर्ब भित्रिएको थियो । गत आवको असोजमा २ खर्ब १ अर्ब २२ करोड भित्रिएको थियो ।
डलर आप्रवाह र खुद आयको स्थिति
समीक्षा अवधिमा अमेरिकी डलरमा भित्रिने रेमिट्यान्स १६.७ प्रतिशतले बढेर ४ अर्ब ६० करोड डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा डलर आप्रवाह २९.२ प्रतिशतले वृद्धि भएको थियो।
यस्तै, चालु आवको तीन महिनामा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ मात्र थियो।
रेमिट्यान्स बढिरहँदा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने मिश्रित देखिएको छ । असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिनेको संख्या १ लाख २१ हजार ८ सय ७९ रहेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा यो संख्या १ लाख २३ हजार ४ सय ५९ थियो । त्यस्तै, पुन: श्रम स्वीकृति लिनेको संख्या भने अघिल्लो वर्षको ७७ हजार २ सय ५७ बाट बढेर यस वर्ष ८२ हजार ३ सय ६९ पुगेको छ ।















