तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज २०० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौँ। बैकिङ्ग प्रणालीमा थुप्रिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत रकम खिच्ने क्रमलाई निरन्तरता दिएको छ। यही क्रममा केन्द्रीय बैंकले आज (मंसिर ४ गते) निक्षेप संकलन उपकरण प्रयोग गरेर बैंकिङ प्रणालीबाट २०० अर्ब (२ खर्ब) रुपैयाँ तान्ने भएको छ।
राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदरमा बोलकबोल गर्नुपर्नेछ। यस बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र भाग लिन पाउनेछन्।
सहभागी हुन चाहने संस्थाहरूले आज दिउँसो २ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत प्रस्ताव पेश गर्नुपर्नेछ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम १० करोडले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
२८ दिन अवधि रहने यो निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी पुस ३ गते भुक्तानी गरिने केन्द्रीय बैंकले जानकारी दिएको छ।















