४ मंसिर २०८३, शुक्रबार

हिमालयन लाइफमा नयाँ सीईओ नियुक्तिको बाटो खुल्यो, दाहालको माग सर्वोच्चद्वारा अस्वीकार



धितोपत्रसम्बन्धी कसुरमा मुद्दा खेपिरहेका कपिलकुमार दाहालको अन्तरिम आदेश माग अस्वीकार गर्दै सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्समा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने बाटो खोलिदिएको छ ।

काठमाडाैँ । सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिलकुमार दाहाललाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतको यो निर्णयसँगै कम्पनीलाई नयाँ सीईओ नियुक्त गर्ने बाटो खुलेको छ ।

न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र गोकर्ण डाँगीको संयुक्त इजलासले शुक्रबार यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेको हो । यो आदेशसँगै कम्पनीको सीईओका रूपमा आफू बहाल रहन पाउनुपर्ने दाहालको माग अस्वीकृत भएको छ ।

गत जेठ महिनामा काठमाडौँ जिल्ला अदालतमा धितोपत्रसम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आरोपमा दाहालसहित अन्य बीमा कम्पनीका पदाधिकारीहरूविरुद्ध मुद्दा दायर भएको थियो । नेपाल धितोपत्र बोर्डसँग जोडिएको उक्त कसुरको अनुसन्धानका क्रममा दाहाल हिरासतमा समेत परेका थिए ।

बीमा ऐन, २०७९ को व्यवस्थाअनुसार अदालतमा मुद्दा दायर भएसँगै सीईओ दाहाल पदबाट स्वतः निलम्बनमा परेका थिए । पछि काठमाडौँ जिल्ला अदालतको आदेशबमोजिम उनी गत साउन २२ गते धरौटी बुझाएर रिहा भएका थिए र उनी हाल तारिखमा छन् ।

धरौटीमा छुटे पनि आफ्नो निलम्बन फुकुवा वा पदमुक्तिको कानुनी प्रक्रिया टुङ्गो नलाग्दै हिमालयन लाइफ इन्स्योरेन्सले भदौ ३ गते नयाँ सीईओ नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो । कम्पनीको उक्त कदम गैरकानुनी भएको दाबी गर्दै दाहालले सर्वोच्च अदालतको ढोका ढकढक्याएका थिए ।

दाहालको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले नयाँ सीईओ नियुक्ति प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । शुक्रबारको संयुक्त इजलासले भने सोही आदेशलाई निरन्तरता नदिने निर्णय सुनाएको हो ।

यसअघि सर्वाेच्च अदालतकाे अादेशका कारण कवि फुँयाललाइ बरिष्ठ डेपुटी सीइअोका रूपमा कम्पनी भित्र्याइएकाे थियाे । याे अादेशसँगै अब फुँयाललाइ प्रमुख कार्यकारीमा बढुवा गर्न पनि बाटाे खुलेकाे छ ।