६ मंसिर २०८३, आइतबार

‘मोस्ट वान्टेड’ सूचीका कुख्यात लागूऔषध नाइके ‘एल चापो इसिद्रो’ मेक्सिकोमा पक्राउ, झडपमा ४ सैनिकको मृत्यु



अमेरिकी गुप्तचर निकाय एफबीआईको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका कुख्यात लागूऔषध तस्कर फाउस्तो इसिद्रो मेजा फ्लोरेस अर्थात् ‘एल चापो इसिद्रो’ मेक्सिकोको सिनालोआ राज्यबाट पक्राउ परेका छन्।

काठमाडाैँ । मेक्सिकोको सुरक्षा फौजले शुक्रवार राति सिनालोआ राज्यबाट ‘एल चापो इसिद्रो’ का नामले चिनिने कुख्यात लागूऔषध तस्कर फाउस्तो इसिद्रो मेजा फ्लोरेस र उनको तस्करी सञ्जालका अन्य दुई नेतालाई पक्राउ गरेको छ। मेक्सिकोका सुरक्षा प्रमुखले शनिवार उक्त जानकारी दिएका हुन्। मेजा फ्लोरेस अमेरिकी सङ्घीय जाँच ब्युरो (एफबीआई) को सर्वाधिक खोजी (मोस्ट वान्टेड) सूचीमा रहेका १० फरार अभियुक्तमध्ये एक हुन्।

अमेरिकी विदेश मन्त्रालयका अनुसार मेजा फ्लोरेस र उनको आपराधिक सञ्जालले विगत २० वर्षभन्दा लामो समयदेखि अमेरिकामा ठूलो परिमाणमा हेरोइन, मेथाम्फेटामाइन, कोकिन र गाँजा तस्करी गर्दै आएका थिए।

उनी ‘बेल्ट्रान लेयभा कार्टेल’ का एक प्रमुख नेता मानिन्थे, जुन गिरोह पहिले सिनालोआ कार्टेलको प्रतिद्वन्द्वी थियो। सन् २०२४ मा सिनालोआ कार्टेलका संस्थापक इस्माइल ‘एल मायो’ जाम्बाडालाई अमेरिकी सुरक्षा निकायले हिरासतमा लिएपछि उक्त गिरोहको नियन्त्रणलाई लिएर ‘लस चापितोस’ र ‘लस मायोस’ गरी दुई गुटबीच आन्तरिक द्वन्द्व सुरु भएको थियो।

सुरक्षा विज्ञहरूका अनुसार मेजा फ्लोरेसको बेल्ट्रान लेयभा समूहले पछिल्लो समय ‘लस मायोस’ गुटसँग गठबन्धन गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको तीव्र दबाबमा रहेको मेक्सिकोले पछिल्लो समय उच्च पदस्थ सन्दिग्ध लागूऔषध तस्करहरूलाई पक्राउ गर्ने र कारबाहीमा मार्ने शृङ्खला चलाइरहेको छ, जसको पछिल्लो कडी यो गिरफ्तारी हो। ट्रम्पले मेक्सिको सरकारले लागूऔषध गिरोहहरूविरुद्ध थप कडा कदम नचाले मेक्सिकोभित्रै एकपक्षीय सैन्य कारबाही गर्ने चेतावनी दिँदै आएका छन्।

शुक्रवार रातभर चलेको सैन्य कारबाहीका कारण सिनालोआ राज्यमा हिंसा भड्किएको थियो। मेक्सिकोको सुरक्षा फौज र गिरोहका सदस्यहरूबीच सशस्त्र भिडन्त हुनुका साथै तस्करहरूले केही क्षेत्रमा आगो बालेर सडक अवरुद्ध पारेका थिए। मेजा फ्लोरेस पक्राउ परेको सिनालोआको गुआसाभेबाट सार्वजनिक भएका सामाजिक सञ्जालका भिडिओहरूमा मेक्सिकन सुरक्षा फौजका हेलिकप्टरले जमिनका लक्ष्यहरूमा गोली चलाइरहेको देखिन्छ।

त्यस्तै, बेसबल खेल हेरिरहेका स्थानीय बासिन्दा ज्यान जोगाउन भागदौड गरिरहेको र अन्य मानिसहरू रात्रिकालीन बजार नजिकै लुकेर बसेको दृश्य ती भिडिओमा कैद भएका छन्।

अमेरिका र मेक्सिकोबीचको गुप्तचर सहकार्य

मेक्सिकोको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै सेना र नेसनल गार्डको विशेष फौजले अमेरिकी र मेक्सिकन गुप्तचर निकायहरूसँगको समन्वयमा उक्त गिरफ्तारी सफल पारेको जनाएको छ। गिरोहका सदस्यहरूले नजिकैका नगरपालिकाहरूमा सडक अवरुद्ध पारेको भए पनि स्थानीय निकायसँगको सहकार्यमा सुरक्षा फौज परिचालन गरी अवरोध हटाइएको मन्त्रालयले उल्लेख गरेको छ।

मेक्सिकोका लागि अमेरिकी राजदूत रोनाल्ड जोन्सनले एक्समा पोस्ट गर्दै मेक्सिकन सुरक्षा फौजको प्रशंसा गरेका छन्। उनले अमेरिका र मेक्सिकोबीचको रणनीतिक गुप्तचर सूचना आदानप्रदानले नै यो अपरेसन सम्भव भएको बताए। “यस्ता नतिजा रातारात हासिल हुँदैनन्, यी निरन्तरको सहकार्य र विश्वासका उपज हुन्,” जोन्सनले लेखेका छन्, “हामीले सँगै मिलेर काम गर्दा यस्तै उपलब्धि हासिल गर्न सक्छौँ र हामी अपराधीहरूलाई लखेट्न जारी राख्नेछौँ।”

विभिन्न अमेरिकी निकायहरूले पनि यो कारबाहीको प्रशंसा गरेका छन्। ‘होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्स’ ले एक्समा यो अपरेसनलाई मेक्सिकोको सबैभन्दा शक्तिशाली कार्टेल सञ्जालमध्ये एकमाथिको ठूलो प्रहार भनेको छ। त्यस्तै, ‘यूएस नर्दन कमान्ड’ ले मेक्सिकन फौजलाई बधाई दिँदै आफ्नो कार्टेलविरोधी कार्यदलले अन्य अमेरिकी निकायहरूसँग मिलेर जुटाएको सूचनाकै आधारमा यो पक्राउ सम्भव भएको जनाएको छ।

रक्षा मन्त्रालयले एक्समा जारी गरेको विज्ञप्तिअनुसार उक्त कारबाहीका क्रममा मेक्सिकन सेनाका चार जना पैदल सैनिकको मृत्यु भएको छ। मन्त्रालयले मृतक सैनिकका परिवारप्रति समवेदना व्यक्त गरेको छ। कारबाहीमा सुरक्षा फौजले सात जना आक्रमणकारीलाई मारेको र आठ जना सन्दिग्ध अपराधीलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ। पक्राउ परेकामध्ये तीन जनालाई मेक्सिको सिटी लगिएको छ भने पाँच जनालाई सिनालोआको कुलियाकानस्थित महान्यायाधिवक्ताको कार्यालयमा बुझाइएको छ।

मेजा फ्लोरेस र बेल्ट्रान लेयभा आपराधिक सञ्जालमा दोस्रो वरियतामा रहेका उनका काकाका छोरालाई बिहान ५:२० बजे (११:२० जिएमटी) मेक्सिको सिटी लगेर सङ्गठित अपराधसम्बन्धी विशेष अभियोजनकर्ताको कार्यालयमा बुझाइएको छ। साथै, मेजा फ्लोरेसको आर्थिक कारोबार सम्हाल्ने उनका सालो/जेठानलाई पनि पक्राउ गरी सोही कार्यालयमा बुझाइएको छ।

सुरक्षामन्त्री ओमार गार्सिया हार्फुचले पनि एक्समार्फत मृतक सैनिकका परिवारप्रति समवेदना प्रकट गर्दै कारबाहीका क्रममा अन्य हतियारका साथै एउटा पोइन्ट फाइभ जिरो क्यालिबर राइफल, एक ग्रेनेड लन्चर र दुईवटा हाते ग्रेनेड बरामद गरिएको जानकारी दिएका छन्।

शनिवारसम्ममा हिंसा मत्थर

शुक्रवार राति सामाजिक सञ्जालमा सडक अवरुद्ध पारिएका, सवारीसाधन जलाइएका र गोली हानाहानका बीच एक स्थानीय पत्रकार ज्यान जोगाउन लुक्न बाध्य भएका दृश्यहरू देखिए पनि शनिवारसम्ममा हिंसा निकै मत्थर भएको छ।

सिनालोआ राज्यका अधिकारीहरूले स्थिति नियन्त्रणमा रहेको र सरकारका सबै तहबाट त्यसलाई सम्बोधन भइरहेको बताएका छन्। उनीहरूले गुआसाभेका राजमार्ग, सहरी तथा ग्रामीण क्षेत्रहरूको निगरानी भइरहेको र आवागमन सहज बनाउने कार्यमा ध्यान केन्द्रित गरिएको जनाउँदै स्थानीय बासिन्दाले सामान्य गतिविधि सुचारु गर्न सक्ने बताएका छन्।

एक स्थानीय सुरक्षा अधिकारीका अनुसार शुक्रवार रातिदेखि नै बासिन्दाहरू घरभित्रै सुरक्षित बसेकाले सहरमा अझै त्रासपूर्ण वातावरण छ। पसल तथा व्यवसायहरू बन्द छन् र सडकहरू सुनसान देखिन्छन्, तर हाल व्यापक हिंसाका कुनै घटना नभएको ती अधिकारीले बताए।