एनआईसी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड) नेपाल धितोपत्र बोर्डबाट स्वीकृत

कठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) (NIC ASIA Select–30 Index Fund) नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । प्रति इकाई मूल्य १० दरको १० करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक एनआईसी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्युनतम ८ करोड ५० लाख इकाई निकट भविष्यमा नै सार्वजनिक रुपमा बिक्री भएको छ ।
एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस एनआईसी एशिया सेलेक्ट –३० (इन्डेक्स फण्ड) सात वर्ष अवधि रहेको तेश्रो बन्दमुखी योजना हो । उक्त योजनामा संकलित अधिकाशं रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने छ । उक्त योजनाको प्रमुख विषेशता भनेको सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुबाट राम्रा मानिएका कम्पनीहरु मध्ये ३० वटा कम्पनीहरु छनौट गरि लगानी गरिने छ । लगानी गरिने कम्पनीहरुको छनौट गर्दा विभिन्न आन्तरिक प्यारामिटर अनुसार गरिने छ । सोही अनुसार कम्पनीको छनौट गर्दा धितोपत्रको दोश्रो बजारमा सूचिकृत सम्पूर्ण समूह उपसमूहमा समावेस भएका कम्पनीहरुबाट समेत छनौट गरेर लगानी गरिने हुँदा ३० वटा कम्पनीमा गरिएको लगानीले समग्र स्टक एक्सचेञ्जमा कायम गरेको सम्पूर्ण समूह उप–समूहको प्रतिनिधित्व गर्ने भएकोले एन आई सी एशिया सेलेक्ट–३० फण्डलाई इन्डेक्स फण्डको नाम दिइएको छ ।
विशेषत सूचिकृत कम्पनीहरुमा लगानी गर्दा ३० वटा कम्पनीहरुमा लगानी गरिने भएता पनि लगानीको अवसर र चुनौती हेरी लगानी गर्ने कम्पनीहरुको संख्यमा थपघट हुन सक्नेछ र निश्चित समय पछि उक्त कम्पनीहरुको संख्यालाई पुनः मुल्याङ्गकन गरि ३० भन्दा बढी नहुने गरि कायम गरिनेछ ।
हाल एनआईसी एशिया क्यापिटलले दुई वटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजना संचालन गरिहेको छ । साथै क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पाँचौं योजना एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड (NIC ASIA Flexi CAP Fund) नामक योजना स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गराईसकेको छ ।