भारतीय कम्पनी सतलजसँग हुने नयाँ समझदारीको मस्यौदा स्वीकृत, थप दुई जलविद्युतमा ९६ अर्ब लगानी स्वीकृत
काठमाडौं । लगानी बोर्ड नेपालको मंगलबार बसेको बैठकले भारतको सतलज विद्युत् विकास निगमसँग हुने समझदारी पत्रको मस्यौदा स्वीकृत गरेको छ । आज बसेको बोर्डको बैठकले उक्त मस्यौदा स्वीकृत गरेको हो । संखुवासभा जिल्लामा निर्माण हुने ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत संभाव्यता अध्ययनका लागि उक्त कम्पनीलाई सर्वेक्षण अनुमतिपत्र दिन सरकारले दुई पक्षीय समझदारी गर्न लागेको हो ।
यसका साथै उक्त बैठकले अरु दुई ठूला जलविद्युत् आयोजनाका लागि २ करोड अमेरिकी डलर (करीब रु. ९५ अर्ब ९५ करोड) लगानी स्वीकृत गरेको छ । ताप्लेजुङमा बन्ने २८५ मेगावाट क्षमताको माथिल्लो तमोर र मनाङमा बन्ने १३९.२ मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी आयोजनाको लगानी स्वीकृत गरिएको बोर्डले जनाएको छ । माथिल्लो तमोर आयोजनाको अनुमानित लागत ५४ करोड अमेरिकी डलर र तल्लो मनाङ मस्र्याङ्दीको लागत ३३ अर्ब ४१ करोड ४० लाख पर्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्डको ४७ औं बैठकले झापाको दमकमा निर्माण गर्ने भनिएको औद्योगिक पार्कको विस्तृत अध्ययन प्रतिवेदन स्वीकृत गरेर निर्माण कम्पनीसँग परियोजना विकास सम्झौत ागर्न लगानी बोर्डको सचिवालयलाई निर्देशन समेत दिएको बोर्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
बैठकले तल्लो अरुण जलविद्युत् आयोजनाको पनि विस्तृत सम्भाव्यता अध्ययन अघि बढाउने निर्णय गरेको छ । यसका लागि सर्वेक्षण अनुमति दिने समझदारी पत्रको खाका बैठकले पारित गरेको हो । बोर्डका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्र आन्तरिक विद्युत् खपत बढाउनेबारे चासो राखेका थिए ।













