चिठ्ठा परेको भन्दै ठगी बढ्यो, सतर्क रहन ग्राहकलाई बैंकर्स संघको आग्रह
काठमाडौं । पछिल्लो समयमा सामाजिक सञ्जालमा विभिन्न प्रलोभन देखाएर ठगी गरेको गुनासो गरेपछि बैंकर्स संघले ग्राहकहरूलाई सजग हुन आग्रह गरेको छ । सामाजिक सञ्जाल फेसबुक मेसेन्जर, भाइबर, ह्वाट्सएप, ईमो लगायत मोबाइल नम्बरमा म्यासेज पठाएर चिठ्ठा परेको भनेर बैंकको विवरण माग्ने र ठग्ने गरेको गुनासो ग्राहकहरूले गरेपछि नेपाल बैंकर्स संघले ग्राहकहरूलाई सजग रहन आग्रह गरेको हो । चिठ्ठा परेको भन्दै ठगी गर्ने बढेपछि नेपाल बैंकर्स संघले सजग भएर डिजिटल बैंकिङ प्रयोग गर्न आग्रह गरेको छ ।
“अहिले विभिन्न सामाजिक सञ्जाल मार्फत अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई चिठ्ठा परेको र रकम पठाउनका लागी खाता र व्यक्तिगत विवरण माग गर्ने तथा सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण जस्तै खाता नं, मोबाइल नं, पासवर्ड प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको छ, आफ्नो व्यक्तिगत विवरण कसैसँग पनि आदानप्रदान नगर्नुहोला ।”
फोन कल वा कारोबारको शंका लागेमा तुरुन्तै बैंक शाखामा सम्पर्क गर्न बैंकर्स संघले आग्रह गरेको हो । ग्राहकहरूले सतर्कताका साथ डिजिटल बैंकिङ मार्फत सुरक्षित कारोबार गर्न अनुरोध गरेको छ ।
ग्लोबल आइएमई बैंकले पनि सूचना निकालेर आफ्ना ग्राहकहरूलाई आग्रह गरेको छ । ग्लोबल आईएमई बैंक लिमिटेडले भ्रामक सूचनाबाट सतर्क रहन ग्राहकहरूलाई आग्रह गरेको हो । बैंकले सार्वजनिक गरेको सूचनामा भनेको छ, “विभिन्न सामाजिक सञ्जालहरू भाइबर, मेसेन्जर, ह्वाट्सएप लगायतका माध्यमबाट स्वदेशी तथा विदेशी नम्बरहरूबाट फोन, एसएमएस तथा अन्य सन्देशहरू पठाई चिठ्ठा आदि परेको भन्दै प्रलोभन देखाई त्यस्तो चिठ्ठा बापतको रकम प्राप्त गर्न बैंक खाता र बैंक खाता सम्बन्धी अन्य गोप्य विवरणहरू मागी मोबाइल बैंकिङ तथा अन्य डिजिटल भुक्तानीका माध्यमहरूको प्रयोगबाट ठगी गर्ने प्रयास भइरहेको भन्ने बारेमा गुनासो प्राप्त भइरहेको सम्बन्धमा बैंकको ध्यानाकर्षण भएको छ ।”














