सिभिल बैंकको सीईओ पोखरेलले कार्यभार सम्हाले,विदेशी बैंकदेखि स्वदेशी बैंकमा काम गरेको अनुभव « Arthapath.com
१८ असार २०७८, शुक्रबार

सिभिल बैंकको सीईओ पोखरेलले कार्यभार सम्हाले,विदेशी बैंकदेखि स्वदेशी बैंकमा काम गरेको अनुभव



काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल कुमार पोखरेलले कार्यभार सम्हालेका छन् । नव नियुक्त सीईओ पोखरेलले आज १८ गते शुक्रबारदेखि लागूहुने गरी कार्यभार सम्हालेका हुन् । गत जेठ २७ गते बसेको संचालक समितिको बैठकले पोखरेललाई सीईओमा नियुक्त गरेको थियो ।

बैंकका तत्कालिन सीईओ गोविन्द गुरुङले राजिनामा दिएपछि कामू सीईओको जिम्मेवारी पोखरेलले सम्हालेका थिए । जेठ २७ गते बैंक संचालक समितिको बैठकले सीईओ जिम्मेवारी दिएको थियो ।

२०७६ साल जेठ २ गते सिभिल बैंकको डेपुटी सीइओमा नियुक्त भएका पोखरेल २ वर्षपछि सीईओमा नियुक्त भएका हुन् । पोखरेल अनुभवी बैंकर हुन् । उनीसँग विदेशस्थित बैंकदेखि नेपालमै रहेको विदेशी बैंकमा काम गरेको अनुभव छ । उनले सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका हुन् । तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा उनले १९ वर्षभन्दा बढी काम गरेको अनुभव रहेको छ । चार्टर्डबाट बाहिरिने समयमा पोखरेल ट्रान्जिक्सन शाखामा सिनियर विजनेश डेभलपमेण्ट म्यानेजर थिए ।

नेपालका विभिन्न बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड नेपाल बैंकमा १६ वर्ष, एन.आइ.सी एशीया बैंकमा साढे ५ वर्ष, नविल बैंकमा १ वर्ष र पछिल्लो २ वर्ष सिभिल बैंक) मा २४ वर्षको अनुभव र नेपाल बाहिर विभिन्न अन्तराष्ट्रिय बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड बैंक, अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाईटेड अमारा बैंकमा १ वर्ष र म्यानमारको एजीडी बैंकमा १ वर्ष)मा ६ वर्ष समेत गरीे कुल तीन दशक लामो बैकिंग अनुभव रहेको छ ।

बिराटनरका स्थायी पोखरेल शेयर बजारमा विशेष रुची राख्ने काठमाण्डू युनिभर्सिटी तथा म्यानमारको जेनेभाविजनेश स्कूलमा भिजिटिगं फ्याकल्टीका रुपमा अध्यापन समेत गराउँदै आएका छन् ।

डिजिटलाईजेसनको माध्यमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्वि गर्दै कागजरहित बैंकको रुपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी शेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने कुरा बैंकका नव नियूक्त प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले बताउनु भयो ।

नव नियूक्त प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलकोे विगत तीन दशकको देश तथा विदेशमा सँगालेको अनुभवले सिभिल बैंकलाई नयाँ उचाईमा पुर्याउने कुरामा आफू विश्वस्त रहेको कुरा सिभिल बैंकका अध्यक्ष इच्छा राज तामाङ्गले वताउँदै बैंकले चालु आ.व.मा व्यवसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरुमा समेत निरन्तर प्रगति अगाडि बढ्नेमा विश्वस्त रहेको कुरा पनि जानकारी दिनु भयो ।

यस सिभिल बैंकले चालु आर्थिक वर्षको जेष्ठ मसान्त सम्म रु. ८८.९४ अर्वको निक्षेप र रु. ८३.६० अर्वको कर्जा विस्तार गर्न सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस्