राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष शर्मा निफ्रा बैंकको सञ्चालकमा नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सञ्चालकमा धनिराम शर्मा नियुक्त भएका छन् । अर्थ मन्त्रालयको तर्फबाट मनोनित भएका सञ्चालक शर्माले असार २७ गतेदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।
यससअघि उक्त पदमा श्रीकृष्ण नेपाल रहेका थिए । अर्थ मन्त्रालयको तर्फबाट मनोनित भई बैंक सञ्चालक समितिमा रहेका सञ्चालक नेपालको पदावधि सकिएसँगै मन्त्रालयले शर्मालाई मनोनित गरेको हो ।
यसअघि अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष पदबाट राजिनामा दिएका थिए । अहिले राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा रामशरण पुडासैनी रहेका छन् ।
हाल निफ्राको बैंकको सञ्चालक समितिको नेतृत्वमा अध्यक्ष अनुज अग्रवाल र सञ्चालकमा धनिराम शर्मा, चन्द्रप्रसाद ढकाल र लालमणी जोशी रहेका छन् ।
