२४ भदौ २०८३, बुधबार

टिम भर्टेक्स र स्पर्स एजुकेशनलको आयोजनामा सीप विकास, दक्षता मूल्याकंन तथा स्वरोजगार कार्यक्रम सम्पन्न



काठमाडौं । हरेक वर्ष जुलाई १५ लाई विश्व युवा दक्षता दिवसको रुपमा विश्वभर विविध कार्यक्रम गरि मनाउँदै आइएको छ । संयुक्तराष्ट्र महासभाले यस दिन युवावर्गमा प्राविधिक र व्यवसायिक शिक्षाको महत्व जानकारी गराउँदै स्थानीय तथा विश्व अर्थतन्त्रमा प्रभावकारी हुने प्रशिक्षण तथा सीप विकासका कार्यक्रमहरु गराउँदै आएको छ ।

सोही अवसर पारेर टिम भर्टेक्स नेपाल र स्पर्स एजुकेशनल फाउन्डेसन नेपालको संयुक्त आयोजनामा सेन्ट्रल बिजनेस पार्क थापाथली, काठमाडौंमा सीप विकास, दक्षता मूल्याकंन तथा स्वरोजगारलाई प्रोत्साहन गर्ने उदेश्यले विशेष कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत मल्टि स्किल आइटी ल्यावको उद्घाटन बिपिओ, आइटी, एआरभिआर, डिजिटल मार्केटिङ र ट्याली सेक्टरबाट भएको थियो भने टिम भर्टेक्स नेपालले आइटी, आइटीआइएस र ट्याली सेक्टरमा पायलट ब्याचहरुको समेत अनाउन्समेन्ट गरेको थियो ।

नेपालमा सीप विकासलाई थप सशक्त बनाउँदै स्थानीय तहबाटै स्वरोजगार सृजना गरेर नयाँ पुस्ताको लागि नेतृत्व गर्न सक्ने गरि युवाहरूलाई सक्षम बनाउने विषयहरुलाई उत्थान गरेर प्रभावकारी योजना सहित अघि बढ्ने बिषयमा बृहत् छलफल गरिएको थियो । प्रशिक्षण पश्चात अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप विद्यार्थीहरुको दक्षता मूल्यांकन समेत गरिएको थियो ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालको प्रमुख आतिथ्य सहित वर्ल्ड लिंक कम्युनिकेसनका प्रमुख संजय शाह, कम्प्युटर एसोसिएसन अफ नेपालका नवीन जोशी, ब्रिटिस कलेजका डिन अरुण जोशी, ब्रिक्सका निर्देशक दिनेश वशिष्ठ, एम.डि.अफ टिम भर्टेक्स संजय अग्रवाल, स्पार्स एजुकेशनल फाउन्डेसन नेपालका प्रमुख सशांक अग्रवाल, नामी कलेजका प्रमुख श्री पवन पोख्रेल तथा सीप प्रोजेक्ट नेपालका फोकल हेड तारा प्रसाद बकारिया सहित विशिष्ट अतिथिहरुले सामुहिक रुपमा कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । हरेक क्षेत्रबाट उल्लेख्य रुपमा उत्साहजनक सहभागिता भएको उक्त कार्यक्रम परिणाममुखी रहदैँ भव्य रुपमा सम्पन्न भएको छ ।