२४ भदौ २०८३, बुधबार

श्रमिकको ज्याला बढ्यो, कति काम गर्दा कति रकम पाइन्छ ?



काठमाडौं । साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक बढेको छ । सरकारले निजी क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने निर्णय कार्यान्वयनमा ल्याएको हो । साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक १५ हजार रुपैयाँ पुर्याएको हो । यसअघि मासिक १३ हजार ४५० रहेको थियो । श्रम ऐन, २०७४ मा प्रत्येक २–२ वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने प्रावधान छ । श्रम ऐनअनुसार गत वर्ष नै न्यूनतम् पारिश्रमिक पुनरावलोकन हुनुपर्ने थियो । कोरोना महामारीका कारण सरकारले यस वर्ष श्रमिकको ज्याला बढाएको हो । 


पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी रु १५ हजार पुर्याउने घोषणा गरेका थिए । सोही बमोजिम श्रमिकले आधारभूत पारिश्रमिकबापत ९ हजार ३८५ रुपैयाँ र महँगी भत्ताबापत ५ हजार ६१५ रुपैयाँ गरी मासिक रु १५ हजार पाउने भएका छन् । 

दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक ३६१  रुपैयाँ र महँगी भत्ता २१६ रुपैयाँ गरी प्रतिदिन ५७७ रुपैयाँ पाउनेछन् । घण्टाको हिसाबले कमगर्ने श्रमिकले आधारभूत पारिश्रमिक ४८ रुपैयाँ र महँगी भत्ता २९ रुपैयाँ गरी प्रतिघन्टा ७७ रुपैयाँ पाउनेछन् ।