यातायात व्यवसायिले देउवा सरकारलाई बुझाए गाडीको साँचो, यी हुन् सातबूँदे माग
काठमाडौं । कोरोना भाइरस महामारीले थलिएको यातायात व्यवसाय उठ्नै नसक्ने अवस्थामा पुगेको भन्दै व्यवसायिले सरकारलाई गाडीको साँचो बुझाएका छन् । उनीहरुले आइतबार विभिन्न सातबुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत् सरकारलाई साँचो बुझाएका हुन् ।
यातायात व्यवसायी केन्द्रीय महासंघ नेपालका पदाधिकारीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई आज चाबी बुझाएका हुन् । कोराना महामारीको प्रभावले झन्डै चार लाख यातायात व्यवसायी र मजदुर तथा तिनका आश्रीत परिवारले आर्थिक दुर्दशा व्यहोर्नु परिरहेको महासंघले जनाएको छ ।
यातायात क्षेत्रमा पर्न गएको प्रभावबारे महासंघले विभिन्न निकायमा मागपत्र बुझाए पनि कतैबाट सम्बोधन नभएपछि साँचो बुझाउनुपरेको जनाएको छ ।
महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, यातायात मन्त्रालय, सबै प्रदेश मन्त्रालय, नेपाल राष्ट्र बैंक, यातायात व्यवस्था विभागलगायतका निकायमा आफ्ना समस्या लिखित रुपमा पेश गरेको थियो । तै पनि कोरोनाबाट प्रभावित यातायात व्यवसायीले कुनै राहत वा सुविधा पाउने अवस्था नबनेको भन्दै महासंघका पदाधिकारीले गुनासो गरेका छन् ।
यातायात व्यवसायीको कर्जाको ब्याज पुँजीकरण गरी ६ महिना ब्याजमात्रै तिर्न र बैंकहरुको आधार दरमै कर्जा दिनुपर्ने माग राखेका छन् । त्यस्तै यातायात व्यवसायीलाई कारोनाविरुद्धको खोप दिनुपर्ने, भाडादर समायोजन गर्नुपर्ने तथा गाडीको अवधि १० वर्ष थप गर्नुपर्ने लगायत माग राख्दै व्यवसायीले आन्दोलन गरिरहेका छन् ।
लामो समयको बन्दपश्चात् यातायात सञ्चालन गर्ने अनुमति सरकारले दिएको छ । तर सार्वजनिक यातायातजस्तो जोखिम क्षेत्रमा काम गर्ने मजदुर कर्मचारीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था नभएको महासंघले जनाएको छ ।
















