डाउनलोडमा युट्युबले बनायो कीर्तिमान, बन्यो सर्वाधिक लोकप्रिय एप

काठमाडौं । विश्वभर १० अर्ब डाउनलोड पुरा गर्ने संसारकै पहिलो एपको कीर्तिमानी बनाउन युट्युब सफल भएको छ । यससँगै उक्त भिडिओ स्ट्रिमिङ प्लेटफर्म विश्वकै सर्वाधिक लोकप्रिय एप बनेको छ । सन् २००६ को नोभेम्बरमा अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गूगलले यसलाई १ दशमलव ६५ अर्ब अमेरिकी डलरमा खरीद गरेको थियो ।
युट्युब हाल गूगलको सहायक कम्पनीको रूपमा सञ्चालित छ । नाइन–टु–फाइभ गूगल रिपोर्ट अनुसार युट्युब बितेको एक दशकमा विश्वमै सबैभन्दा बढी डाउनलोड र प्रयोग भएको एप हो । कोरोना महामारीका कारण युट्युवमा कन्टेन्ट बनाउने र हेर्ने प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ ।
युट्युव गूगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट गाउनलोड गर्न सकिन्छ । पछिल्लो समय यो एप सबैजसो एन्ड्रोइड फोनमा ‘प्रि–इन्स्टल’कै रुपमा आउने गर्दछ । एप्पलले एपको डाउनलोड संख्या सार्वजनिक गर्दैन । तर गूगल प्ले स्टोरमा भने युट्युव एप १० अर्बभन्दा बढी प्रयोगकर्ताले डाउनलोड गरेको देखिएको छ ।
यो १० अर्ब डाउनलोडको तथ्यांक गूगल प्ले स्टोरको मात्रै हो । उक्त तथ्यांकमा एप्पल एप स्टोरबाट डाउनलोड गरिएको तथ्यांक समेट्ने हो भने उक्त संख्या अझ बढ्ने निश्चित छ । युट्युव पछि धेरै डाउनलोड हुने एपमा फेसबुक रहेको छ, जसको डाउनलोड ६ अर्बभन्दा बढी पुगेको छ ।
फेसबुक मेसेञ्जर ५ अर्बभन्दा बढी र इन्स्टाग्राम ३ अर्बभन्दा बढी डाउनलोड भएका छन् । गूगलले एन्ड्रोइड मोवाइलमा प्रयोगकर्ताले कुन–कुन एप प्रयोग गरेको र कति–कति समय बिताएको हेर्न मिल्ने सुविधा पनि ल्याएको छ ।
एजेन्सीको सहयोगमा