मौद्रिक नीति एक साताभित्रै आउने, बजेट प्रतिस्थापनको टुंगो नलागेपछि अघि बढ्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी शुक्रबार वा आइतबारसम्म चालू आर्थिक वर्षको मौद्रिक नीति जारी गर्ने बताएका छन् । आज राष्ट्र बैंकमा इकोनोमिक मिडिया सोसाइटीसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
राष्ट्र बैंकले मौद्रिक नीति तयारी हालतमा राखेको भए पनि सरकारले विस्वासको मत पाएसँगै अध्यादेशबाट ल्याइएको बजेट प्रतिस्थापन गर्नसक्ने भन्दै रोकिएको उनले बताए । ‘तर अहिलेसम्म बजेट प्रतिस्थापन गर्ने वा नगर्ने भन्ने केही टुंगो लागेको छैन,’ उनले भने ।
मौद्रिक नीति तयार बनाएर ‘होल्ड’मा राखेको खबरहरु बाहिरिएपछि अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति रोक्न आफ्नो भूमिका नभएको दाबी गरेका थिए । उनले राष्ट्र बैंकले उपयुक्त समयमा मौद्रिक नीति जारी गर्न सक्ने भन्दै आफ्नो बचाउ गरेपछि गभर्नरमाथि दबाब परेको छ ।
गभर्नर अधिकारी अझै एक साता कुरेर मात्रै मौद्रिक नीति जारी गर्ने पक्षमा देखिएका छन् । आर्थिक वर्ष समाप्त भएको तीन सातासम्म कुरेपछि पनि बजेटबारे टुंगो नलागे मौद्रिक नीति जारी गर्ने राष्ट्र बैंकको तयारी छ ।












