राउण्ड टेबल नेपालको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । राउण्ड टेबल नेपाल, नेपालको गैरनाफामूलक संस्था हो, जसले देशका विभिन्न जिल्लाहरुमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ । काठमाडौंमा बसेको राउण्ड टेबल नेपालको वार्षिक साधारण सभामा केहि नयाँ सदस्यहरु थपिएका छन् भने केहि सदस्यहरुको कार्यकाल समाप्त भएको छ ।
राउण्ड टेबल इन्टरनेशनलसँग आवद्ध सन् १९९९ मा स्थापना भएको राउण्ड टेबल नेपाल, नेपालभर अहिलेसम्म ३० च्याप्टरमा कुल ४५३ सदस्य रहेका छन् । ४० वर्ष उमेरपछि अनिवार्य अवकाश लिनुपर्ने नियम रहेको यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ ।
आफ्नो नयाँ कार्यकाल समाल्ने नयाँ सदस्यहरुमा आन्नद बाहेती (अध्यक्ष), राहुल अग्रवाल (उपाध्यक्ष), गोविन्द घिरइया (सचिव), सुसान्त चाचान् (कोषाध्यक्ष), विमल बेद (सम्पादक) र शौरभ केडिया (PP/IRO) रहेका छन् ।
१८ देखि ४० वर्ष उमेर समूहका युवाहरु मात्रै सक्रिय रहन पाउने यो संस्थाले राष्ट्रिय परियोजना “फ्रिडम थ्रू एजुकेसन” सञ्चालन गरिरहेको छ । संस्थाले शिक्षा क्षेत्रमा देशको कुनै पनि स्थानमा विद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार (समग्र विद्यालाय भवन) देखि आवश्यकता अनुसार शिक्षा सामाग्री, कम्प्युटर, लाइब्रेरी र ल्याब निर्माण गर्दै आएको छ ।
राउण्ड टेबल नेपालले कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माण गरेका छन् भने सो निर्माणमा अहिलेसम्ममा २५ करोड रुपैयाँ भन्दा बढी खर्च गरिसकेको छ । शिक्षा क्षेत्रसंगै संस्थाले स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएको छ। खोलिएका विभिन्न स्वास्थ्य चौकीबाट हरेक वर्ष चार देखि पाँच हजार बिरामीले निःशुल्क सेवा पाउनुका साथै रगत फेर्नुपर्ने ह्यालेसिनिया नामक रोगका बिरामीहरुलाई लक्षित गर्दै विगत चार वर्षदेखि उपचार प्रक्रियामा सघाइरहेको छ ।त्यसैगरी कोरोना महामारीका प्रोजेक्ट लाइफ लाइन अन्र्तगत विरामीहरुलाई लक्षित गर्दै संस्थाले लगभग ३५ लाख बरावरको ३५ भिप्याप मेसिन विभिन्न अस्पतालहरुलाई हस्तान्तरण गरेको थियो ।












