कोजेन्ट हेल्थ बन्यो स्वास्थ्यबीमा व्यवस्थापन सूचना प्रणालीसँग जोडिने पहिलो कम्पनी, अस्पताल सफ्टवेयर मार्फत सिधै बिमा दाबी गर्न सकिने

काठमाडौँ । कोजेन्ट हेल्थले भक्तपुर अस्पताल र मेची अञ्चल अस्पतालबाट बिमा व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस) सँग एकीकृत स्वास्थ्य बिमा व्यवस्थापन प्रणालीको सुरुवात गरेको छ । योसँगै कोजेन्ट हेल्थ स्वास्थ्य बिमा बोर्डद्वारा प्रवर्द्धित आइएमआइएस प्रणालीमा जोडिने पहिलो इलेक्ट्रोनिक हेल्थ रेकर्ड सेवा प्रदायक कम्पनी बनेको छ ।
एकीकृत प्रणालीको सुरुवातसँगै स्वास्थ्य बिमामा आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बिरामीहरू स्वास्थ्य बिमा योजनामा आबद्ध भए नभएको जाँच गर्न र आबद्ध भएका बिरामीहरूको हकमा स्वास्थ्य बिमा सम्बन्धी आवश्यक विवरणको जानकारीको लागी कोजेन्ट हेल्थको इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणालीको उपयोग गर्न सक्नेछन् । साथै स्वास्थ्य संस्थाहरूले सफ्टवयेरमार्फत् डिजिटल रूपमै बिरामीको बिमा दाबी गर्न सक्षम हुने भएका छन् ।
यो सँगै हालसम्म स्वास्थ्य सेवा प्रदायकले बिमा दाबी गर्न बीमीतलाई स्वास्थ्य सेवा प्रवाहको क्रममा दिइएको सेवाको कागजात छुट्टै साइटमा प्रविष्ट गरिरहनुपर्ने दोहोरो र समय खपत हुने अवस्थाको अन्त्य हुने भएको छ । इलेक्ट्रोनिक हेल्थ रेकर्ड र बिमा सूचना प्रणाली जस्ता दुर् महत्त्वपूर्ण प्रणाली एकीकृत हुँदा नेपालमा अत्यावश्यक डिजिटल स्वास्थ्य इकोसिस्टम निर्माणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । कोजेन्ट हेल्थले पहिले नै फिनटेक र भुक्तानी प्रणालीसँग आफ्नो प्रणालीलाई एकीकृत गरी सकेको छ र डिजिटल स्वास्थ्यको क्षेत्रमा आवश्यक पर्ने महत्त्वपूर्ण प्रविधि निर्माण गर्दै आएको छ ।
कोजेन्ट हेल्थ प्रावि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक हेल्थ रेकर्ड (ईएचआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ । कोजेन्ट हेल्थद्वारा निर्मित कोजेन्ट एमआरआई, कोजेन्ट एमआरआई वेब, ई–अपोइन्टमेन्ट र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरू नेपाल भरका ५० भन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरूमा प्रयोग भइरहेका छन् ।