आजदेखि १२ देखि १७ वर्षका बालबालिकालाई कोरोना खोप
काठमाडौं । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप आजैबाट दिन थालिएको छ । अमेरिकी खोप फाइजर उक्त समूहका बालबालिकालाई दिन थालिएको हो । उक्त खोपको पहिलो मात्रा आज, भोलि र पर्सि लगाइने छ । यसअघि यो खोप १२ वर्षदेखि माथिका दीर्घ रोगीलाई लगाइएको थियो ।
शनिबारसम्म दीर्घ रोगीलाई लगाउने कार्यक्रम सकिएपछि आजबाट अरु स्वस्थ बालबालिकालाई यो खोप लगाउन थालिएको हो । यो खोप कोरोना भाइरस विरुद्ध हालसम्म पत्ता लागेका खोपमध्ये सबैभन्दा सुरक्षित र प्रभावकारी मानिन्छ । यो एकमात्र खोप १८ वर्षभन्दा मुनीका बालबालिकालाई पनि लगाउन मिल्ने गरी विश्व स्वास्थ्य संगठनले स्वीकृति दिएको छ ।
यसअघि कात्तिक २८ गते आइतबारदेखि दीर्घ रोगिहरुलाई यो खोप दिन शुरु गरिएको थियो । अमेरिकाले विश्व स्वास्थ्य संगठनअन्तरगतको एउटा कार्यक्रम ‘कोभ्याक्स’ सुविधामार्फत १ लाख मात्रा (डोज) फाइजर खोप नेपाललाई दिएको थियो । यो खोप एक जनाले दुई मात्रा लगाउनु पर्ने भएकाले ५० हजार जनालाई मात्र पर्याप्त हुन्छ । नेपालले अरु पनि फाइजर खोप ल्याउने प्रयास गरे पनि हालसम्म कुनै टुंगो लाग्न सकेको छैन ।
यो खोप देशभरका २४ अस्पतालबाट दिइएको थियो । अहिले पनि तिनै अस्पतालबाट दिन थालिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार लामो समयदेखि मुटुको बिरामी भइ शल्यक्रिया गरेका वा दीर्घ रोगको औषधि प्रयोग गरिरहेका व्यक्ति, लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका बिरामीलाई खोपको प्राथमिकतामा राखेको थियो ।













