पश्चिम नेपालमा महँगियो खसिको मासु, किलोको ९०० पुग्यो
काठमाडौं । पश्चिम नेपाललमा खसीको मासु निकै सस्तो पर्दै आएको थियो । काठमाडौंमा ११०० रुपैयाँ किलो पर्दा पनि पश्चिम नेपालको पहाडी क्षेत्रमा ६०० देखि ८०० रुपैयाँ प्रतिकिलोमा मासु पाइन्थ्यो । तर अब सुर्खेतबाट भाउ बढ्न थालेको समाचार आएको छ ।
सुर्खेतमा मासुको भाउ किलोमै १०० रुपैयाँ बढाइएको त्यहाँको मासु व्यवसायि संघले जनाएको छ । यसअघि १ किलो मासुको भाउ ८०० रुपैयाँ पर्दै आएको भए पनि आजैबाट ९०० रुपैयाँमा बेच्न सुरु भएको छ । आइतबार विहानै बाट नयाँ मूल्यमा मासुको कारोबार सुरु भइसकेको संघका अध्यक्ष टोपेन्द्रजंग शाहीले बताएका छन् ।
पश्चिम नेपालबाट अहिले नजिकको बजार नेपालगञ्जका साथै बुटवल, भैरहवा, पोखरा र काठमाडौंजस्ता ठूला बजार केन्द्रमा खसी विक्री हुन थालेपछि स्थानीय बजारमा पनि खसीको भाउ चर्किएको छ । यही कारण मासुको भाउ पनि बढाउनु परेको व्यवसायिले बताएका छन् । तर यो घटनाले बाख्रा पाल्ने किसानका लागि भने लाभ पुग्ने छ ।













