समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउन पर्छ : अर्थमन्त्री शर्मा
कठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताएका छन । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गदै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताएका छन ।
‘अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको हुनुप¥यो । विद्यालय उद्योग हुनुप¥यो’, मन्त्री शर्माले भने , ‘एकातिर पढ्ने जनशक्ति निर्माण गर्ने, अर्कोतिर उनीहरूको श्रम प्रयोग गरेर उत्पादन गर्ने हुनुप¥यो ।’ शर्माले समाजवादतिर जान हरेक विद्यालयले एउटा उद्यम गर्नैपर्ने बताउनुभयो । त्यसका लागि शिक्षक र शिक्षक संगठनले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका छन ।
विद्यालयलाई उद्यम केन्द्रित बनाउँदा सामुदायिक पुँजी निर्माण हुने भन्दै मन्त्री शर्माले त्यो समाजवादको आधार बन्ने बताए । यसले उत्पादनका स्रोत र साधनमा सामुदायिक स्वामित्व रहने उनको भनाइ छ । सामुदायिक स्वामित्वबाटै समाजवादको आधार तय हुने उनले बताए । ‘विद्यालयको पुँजी भनेको सामुदायिक हुन्छ’ । ‘त्यस्तै किसिमको अरू सामुदायिक पुँजी निर्माण गर्ने समूह/समुदाय बनाउनुपर्छ ।’ त्यसमा व्यक्तिगत सम्पत्ति आर्जन गर्न रोक नहुनेसमेत स्पष्ट पारेका छन ।
मन्त्री शर्माले पछिल्लो समय विद्यालय नयाँ खोल्नुभन्दा मेगा विद्यालय बनाउनुपर्ने बताएका छन । उनले थोरै विद्यार्थी तर धेरै विद्यालय हुँदा गुणस्तरीय शिक्षा प्रदानमा समस्या भइरहेको बताउनुहुँदै सो धारणा राखेका हुन ।
शिक्षकहरूको विभिन्न मागका सम्बन्धमा शिक्षा मन्त्रालयबाट पूरा हुने र कतिपय माग आगामी बजेटमा सम्बोधन गरिने आश्वासन मन्त्री शर्माले दिएका छन ।













