कम्पनीको वित्तीय विवरण अध्ययन गरेर दोस्रो बजारमा लगानी गर्न गिरीको सुझाव - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कम्पनीको वित्तीय विवरण अध्ययन गरेर दोस्रो बजारमा लगानी गर्न गिरीको सुझाव



काठमाडौं । शेयर बजारमा गुमाउने र कमाउने सामान्य प्रक्रिया भएकाले बजार घट्दैमा कसैले रुनु पर्ने अवस्था नभएको निमित्त अध्यक्ष गिरीले बताएका छन् । शेयर बजार कहिले घट्ने र कहिले बढ्ने हुँदा बजार घट्ने बित्तीकै कुनै चिन्ता लिनु नपर्ने नेपाल धितोपत्र बोर्डका निमित्त अध्यक्ष निरज गिरीले बताए । प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश समितिको सहकार्यमा आयोजना गरिएको पत्रकार आचार संहिता कार्यक्रममा बोल्दै निर्देशक गिरिले यस्तो बताएका हुन् । 

धितोपत्र बजार सूचनाको बजार भएकाले कम्पनीले सार्वजनिक गरेको सूचनालाई आधार मानेर लगानी गर्दा सुरक्षित हुने भएकाले भ्रामक सूचनाको आधारमा लगानी नगर्न निमित्त अध्यक्ष गिरीले लगानीकर्तालाई सुझाव दिए । केही सञ्चारमाध्यममा भ्रामक समाचार आउने गरेको आरोप समेत उनले लगाए । कम्पनीको वित्तीय विवरण अध्ययन गरेर लगानी गर्न उनको सुझाव छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले केही सञ्चारमाध्यमले आफ्नो स्वार्थका लागि भ्रामक समाचार सम्प्रेषण गर्दा बजारमा प्रभाव परेको बताए । प्रवक्ता पराजुलीले भने, ‘दोस्रो बजारमा सम्बन्धित कम्पनीको पर्फमेन्सको आधारमा शेयर मूल्य बढ्नुपर्ने हो तर आफूले लगानी गरेको शेयर मूल्य बढाउन र किन्नको लागि शेयर घटाउने समाचारले बजारमा नकारात्मक असर परेको छ ।’ 

कुनै बेला शेयर बजारका बादशाह भनिएका केही ब्यक्तिहरू पनि जेलभित्र परेको स्मरण गर्दै प्रवक्ता पराजुलीले भने खलपात्रहरुलाई हिरो बनाउँदा असामान्य प्रकृतिका घटना घट्न सक्ने भएकाले समयमा नै सचेत हुनुपर्छ । 

पत्रकारहरूले आचारसंहिता पालना गर्नुपर्नेमा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेख बहादुर थापाले जोड दिए । म्युचुअल फण्ड पनि लगानीको विकल्प रहेकाले यसमा लगानी गरे आफ्नो रकम सुरक्षित हुने उनको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्