सनराइज, प्रभु र मनकामनाको शेयरमूल्य समायोजन « Arthapath.com
१७ असार २०८२, मंगलबार

सनराइज, प्रभु र मनकामनाको शेयरमूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सनराइज बैंक, प्रभु बैंक र मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य समायोजन गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गर्ने भएको हो ।

नेप्सेले सनराइज बैंकको ६.६५ प्रतिशत, प्रभु बैंकको १२ प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस शेयर समायोजन गरेको छ । समायोजनपश्चात सनराइज बैंकको शेयरमूल्य २५४ रुपैयाँ १० पैसा, प्रभु बैंकको २९४ रुपयाँ ७३ पैसा र मनकामना स्मार्ट लघुवित्तको १ हजार ३३३ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार सनराइज बैंकको शेयर प्रतिकित्ता २७१ रुपैयाँ, प्रभु बैंकको ३३० रुपैयाँ १० पैसा र मनकामना स्मार्ट लघुवित्तको १ हजार ५६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस १५ गते आम्रपाली बैंक्वेट, बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे चौधौं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले चुक्ता पूँजीको ६.६५ प्रतिशतको दरले हुन आउने ६३ करोड ९ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशतले हुन आउने ३ करोड ३२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले हाल कायम अधिकृत पूँजी १० अर्ब रुपैयाँबाट १५ रुपैयाँ पुर्याउने प्रस्ताव पनि पारित गर्नेछ। बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ पुग्नेछ । यस्तै बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुमा एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी समेत दिनेछ ।

त्यस्तै, प्रभु बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही प्रस्ताव पारित गर्न बैंकले पुस १८ गते, आइतबार बीसौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ । सभामा भर्चुअल माध्यमबाट पनि सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ ।

सभाले अन्य बैंकसँगै मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

यता, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न पुस १९ गते, दिउँसो २ बजे, होटल पौवा, सिद्धार्थनगर, रुपन्देहीमा चौथो वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १७ प्रतिशत अर्थात २ करोड ५ लाख रुपैयाँ बराबरको बोनस शेयर पारित गर्नेछ ।

यस्तै, इजाजत प्राप्त ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्नको लागि संञ्चालक समितिले अख्तियारी समेत दिनेछ । सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी २ जना सञ्चालकको समेत चयन गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्