निर्धन उत्थान लघुवित्तले पुस २५ गते वार्षिक साधरण सभा बोलायो

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २५ गते २३औं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको पुस १ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा भर्चुअल माध्यमबाट दिउसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङग्याउनेछ । सभाले गत वर्षको मुनाफाबाट प्रस्तावित कुल ३१ दशमलव शून्य ५३ प्रतिशत लाभांश लाई पनि अन्तिम रुप दिनेछ ।
कम्पनीको मंसिर ९ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १ अर्ब ६९ करोड ५० लाख रुपैयाँको आधारमा २९ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीले यस वर्ष गत वर्षको भन्दा बढी लाभांश वितरण गर्न लागेको हो ।
गत वर्षभन्दा कम्पनीले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले विगतका वर्षहरुमा वितरण गरेको लाभांश इतिहासलाई हेर्ने हो भने ८० दशमलव ७१ प्रतिशतसम्म लाभांश वितरण गरेको देखिन्छ । आर्थिक वर्ष ०७३/७४ को मुनाफाबाट कम्पनीले ६६ दशमलव ६७ प्रतिशत बोनस शेयर र कर समेत १४ दशमलव ०४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस वर्षको बोनसपश्चात कम्पनीको पूँजी बृद्धि हुने भएकाले सोहि बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सो कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।