आर्थिक नियमावलीमा सुनचाँदीका मुद्धा समावेस गर्न व्यावसायीको आग्रह
काठमाडौं । सुनचाँदी व्यावसायीहरुको छाता संस्था नेपाल सुनचाँदी व्यावसायी महासंघले आर्थिक नियमावलीमा सुनचाँदीका मुद्धा समावेस गर्न सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधी मण्डलले बुधबार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेटगरी ब्यवसायीका समस्या समाधानगर्न आग्रह गरेको हो ।
भेटका क्रममा व्यावसायीका तर्फवाट खासगरी तीन वटा माग अगाडि सारिएको थियो । त्यसमध्ये पहिलोमा जर्तिको मापदण्डमा एकरुपता कायम गर्दै १० प्रतिशत गर्नुपर्ने छ । हाल जर्ति सम्वन्धी ठोस ब्यवस्था नहुँदा फरक फरक दर कायम हुँदै आएको छ । यस्तै व्यावसायीले सुनचाँदी जस्तो वहुमुल्य धातुको कारोवारमा नगद करोबारको सिमा ५० हजारवाट बढाएर १० लाख पुर्याउनुपर्ने माग गरेको छन् । व्यवसायीले अगाडि सारेको तेस्रो मागमा लेखा परीक्षण सम्वन्धी ब्यवस्थमा एकरुपमा हुनुपर्ने रहेको छ ।
ब्यवसायी संगको भेटका क्रममा विभागका महानिर्देशक पौडेलले व्यावसायीले उठाएका मागहरुलाई अध्ययन गरी सम्वोधन गर्न पहल गर्ने आश्वासन दिएका छन् । उनले भने, ‘व्यवसायीका समस्या साधानगर्न विभागले सदैव सहयोग गर्दै आइरहेको छ । अव पनि के गर्न सकिन्छ त्यो अध्ययनगरी हामी आवश्यक निर्णय लिन्छौं ।’
त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले प्रष्ट कानूनी ब्यवस्थाको अभावमा बजारमा व्यावसायीवीच दुविधा उत्पन्न नहोस र जर्ति जस्तो बिषयमा व्यवसायीले आफूखुशी सिमा निर्धारण गर्दा एउटै सामानको पसलपिच्छे फरक फरक मुल्य कायम नहोस भन्ने उद्धेश्यले आर्थिक नियमावलीमार्फत यसलाई समेट्न आग्रह गरिएको बताएका छन् । यसवाट सरकारी राजस्वमा समेत योगदान पुग्ने उनको धारणा राखेका छन् ।













