नाडेप लघुवित्तको शेयरमूल्य समायोजन, समायोजनपश्चात शेयरमूल्य ८६५.८३ रुपैयाँ तोकियो « Arthapath.com
२२ असार २०८२, आईतबार

नाडेप लघुवित्तको शेयरमूल्य समायोजन, समायोजनपश्चात शेयरमूल्य ८६५.८३ रुपैयाँ तोकियो



काठमाडौं । नेप्सेमा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरि नयाँ मूल्य तोकेको हो । नेप्सेले लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोजनपश्चात शेयरमूल्य ८६५ रुपैयाँ ८३ पैसा तोकिएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात २०७७ पुस १६ गते लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ३९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सो दिनपश्चात लघुवित्तको शेयर कारोबार हुन सकेको छैन् । मर्जर तथा साधारण सभा प्रयोजनार्थ लघुवित्तको शेयर कारोबार रोक्का गरिएको थियो ।

लघुवित्तले माघ १४ गते, नौबिसे एग्रो रिसोर्ट, नौबिसे, धादिङमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सभा बिहान ११ बजे अनलाइन मार्फत शुरु हुनेछ । सभाले चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँको २० प्रतिशतका दरले बोनस शेयर र १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, संस्थापक समूहको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभामा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा समझदारी पत्र भई नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती प्राप्त भएकोमा शेयर संरचना र कर्मचारी पद समायोजनमा दुवै वित्तीय संस्था समझदारीमा पुग्न नसकेकोले दुवै वित्तीय संस्थाले नेपाल राष्ट्र बैंक समक्ष सैद्धान्तिक सहमति बदर गर्न अनुरोध गरेअनुसार नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति बदर भई आएकोले सो सम्बन्धमा भए गरेका सम्पूर्ण कार्यहरूको अनुमोदन गर्ने प्रास्ताव समेत पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्