इन्फिनिटी लघुवित्त पाँचौं वार्षिक स्थापना दिवस सम्पन्न

काठमाडौं । दुर्गम तथा ग्रामिण क्षेत्रका पिछडिएका वर्गलाई सहज र दिगो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले नवलपरासी जिल्ला (ब.सु.पू.) को गैंडाकोट नगरपालिका वडा नं २ मा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो पाँचौं वार्षिक स्थापना दिवस २०७८/१०/०७ गते एक कार्यक्रम गरी मनाएको छ ।
२०७३ असार ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट २०७३/०९/१७ गते वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त गरी विधिवत रुपमा २०७३/१०/०७ गतेदेखि संस्थाले कारोबार सुभारम्भ गरेको थियो । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्र प्राप्त गरी कारोवार गरेको वित्तीय संस्थाको चुक्ता पुँजी रु. ४१ करोड ४५ लाख १३ हजार २८४ रहेको छ ।
यस संस्थाले देशभरी नै लघुवित्त सेवा विस्तार गर्ने अठोट लिए अनुसार कार्यक्रमलाई विस्तार गर्न, लघुवित्त वित्तीय संस्थाहरुमा दोहोरोपनामा कमी ल्याउन, संस्थालाई अझ सक्षम तथा दिगो बनाउन नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी २०७८ भाद्र ४ गतेदेखि एकीकृत कारोबार गरेको यस संस्थाको पहुंच नेपालका सातै प्रदेशका ४१ जिल्लामा रहेको छ ।
पाँचौं वार्षिक उत्सवको पुर्व सन्ध्यामा गैंडाकोट नगरपालिका वडा नं १ मा रहेको नव जिवन अपाङ्ग बाल आश्रममा रहेका अपाङ्ग बालबालिकाहरुका लागि संस्थाको तर्फबाट सहयोग सामाग्री वितरण वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रविण कुमार लामा तथा गैंडाकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष ध्रुवराम पौडेलले संयुक्त रुपमा गर्नु भएको थियो । वित्तीय संस्थाले हाल सम्म विपन्न वर्गका मानिसहरुलाई सहज रुपमा डिजिटल लघु बैकिङ सुविधा उपलब्ध गराउँदै आएको छ । हाल सम्म संस्थाले ८०,४१२ सदस्यहरुलाई विभिन्न उद्देश्यमा प्रदान गरेको बाँकी कर्जा रु. ४ अरब ७ करोड ३२ लाख रहेको छ भने ग्राहक सदस्यहरुको बचत रकम रु.१ अरब १८ करोड ३१ लाख रहेको छ ।