धौलागिरी लघुवित्तको आईपीओ प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल

काठमाडौं । धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओेको प्रत्याभूतिका लागि प्रभु क्यापिटल नियुक्त भएको छ । धौलागिरी लघुवित्तले सर्वसाधारणलाई ३ लाख ३१ हजार कित्ता शेयर निष्काशन तथा बिक्री गर्ने भएको छ ।
लघुवित्तको आईपीओ प्रत्याभूतिका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको हो ।
फागुन ४ गते बुधबार प्रत्याभूति गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेको हुन् ।
धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो ।
प्रधान कार्यालय बागलुङ्ग जिल्लाको बागलुङ्ग नगरपालिका २, श्री नगर टोलमा अवस्थित यस संस्थाले २०७५ फाल्गुण १ देखि वित्तिय कारोबार गर्दै आइरहेको छ । हाल यस संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४ हजार ५ सय सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।