पेट्रोलियम पदार्थको मूल्य हालसम्म कै उच्च पुग्दा पनि निगमलाई ४ अर्ब ६६ करोड रुपैयाँ घाटा
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेलमा ५ रुपैयाँ मूल्य बढाएको छ । निगमका अनुसार बुधबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १५५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ कायम गरिएको छ । आयल निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बढोत्तरी भएकाले प्राप्त मूल्यसूचीको आधारमा निगमले हाल प्रचलनमा ल्याईरहेको पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ५ रुपैयाँले बृद्धि गरी काठमाडौं (निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भित्र) मा प्रतिलिटर नयाँ खुद्रा बिक्री मूल्य कमशः १५५ रुपैयाँ रु १३८ रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ साविक बिक्री मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरी प्रति लिटर १५१ रुपैयाँ कायम गरेको छ ।
निगमलाई एल.पी. ग्यासमा प्रतिसिलिण्डर ६६५.३४ रुपैयाँ घाटा हँदा समेत बिक्री मूल्य नबढाई हाललाई पुनः यथावत नै राखिएको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोल प्रतिलिटर १८३.५७ रुपैयाँ खरिद गरी प्रतिलिटर १५५ रुपैयाँमा बिक्री गर्दा प्रतिलिटर २८.५७ रुपैयाँ घाटा हुने गरेको छ । १५ दिनको अवधिमा निगमलाई ९४ करोड रुपैयाँ घाटा हुने देखिएको छ ।
त्यस्तै, डिजेल प्रतिलिटर १७०.१५ रुपैयाँमा खरिद गरी प्रतिलिटर १३८ रुपैयाँमा बिक्री गर्दा प्रतिलिटर ३२.१५ रुपैयाँ घाटा अर्थात १५ दिनमा २७९.३८ करोड रुपैयाँ घाटा हुने जनाएको छ ।
त्यस्तै, मट्टितेल प्रतिलिटर ११३.६६ रुपैयाँमा खरिद गरी प्रतिलिटर १३८ रुपैयाँमा बिक्री गर्दा प्रतिलिटर २४.३४ रुपैयाँ फाइदा हुने देखिएको छ भने १५ दिनमा १ करोड ८७ लाख रुपैयाँ नाफा हुने छ ।
त्यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १३३.९० रुपैयाँमा खरिद गरी प्रतिलिटर १५१ रुपैयाँमा बिक्री गर्दा प्रतिलिटर १७.१० रुपैयाँमा नाफा अर्थात १५ दिनमा ४ करोड ७५ लाख रुपैयाँ नाफा हुने छ ।
त्यस्तै, हवाई इन्धन (बाह्यतर्फ) प्रतिलिटर ११४.८८ रुपैयाँमा खरिद गरी प्रतिलिटर १.४९५ अमेरिकी डलरमा बिक्री गर्दा प्रतिलिटर ६७.९३ रुपैयाँमा नाफा अर्थात १५ दिनमा २७ करोड १७ लाख रुपैयाँ नाफा हुने छ ।
एलपी ग्यास प्रति सिलिण्डर २ हजार २४०.३४ रुपैयाँमा खरिद गरी १ हजार ५७५ रुपैयाँ बिक्री गर्दा प्रति सिलिण्डर ६६५.३४ रुपैयाँ घाटा अर्थात १५ दिनमा १ अर्ब २६ करोड ३७ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।
निगमको १५ दिनको अनुमानित घाटा करिब ५ अर्ब ३० करोड रुपैयाँबाट करिब ६४ करोड रुपैयाँ अझै करिब ४ अर्ब ६६ करोड रुपैयाँ रहने देखिन्छ । आगामी भुक्तानीका लागि नपुग रकम मूल्य स्थिरीकरण कोषबाट तथा अन्य वित्तिय संस्थाहरुबाट ऋण लिइ पुर्याउनु पर्ने बाध्यात्मक स्थिति रहेको छ । चालु आर्थिक वर्ष २०७८–७९ को फागुन मसान्तसम्ममा निगमलाई करीब २८ अर्ब रुपैयाँ नोक्सानी भइसकेको निगमले जनाएको छ ।
फागुन २२ मा पेट्रोलियम पदार्थको रकम भुक्तानी गर्न नपुग रकम ४ अर्थ २५ करोड रुपैयाँ मूल्य स्थिरीकरण कोषबाट ऋण लिएको निगमले जनाएको छ ।














