१४ श्रावण २०८३, बिहिबार

नेपाल सैनिक परेड स्थल होइन, एसपीपी सम्झौता नगरियोस्: अनेरास्ववियु



काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले अमेरिकाले नेपाललाई सैनिक परेड स्थलको रुपमा परिणत गर्न खोजेको बताएको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ती जारी गर्दै राष्ट्रघाती एमसीसी सम्झौताको निरन्तरताको रुपमा अमेरिकाले नेपाल सामु प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नगर्ने सरकारलाई चेतावनी समेत दिएको हो ।

एसपीपी सम्झौताले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त विरुद्ध स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)ले नेपालको स्वतन्त्र परराष्ट्र नीति ठाडै उल्लंघन गरी नेपालको अस्तित्वमाथि धावा बोल्ने काम गरेको विज्ञप्तीमा उल्लेख गरीएको छ । अमेरिकाले उक्त मस्यौदामा नेपाललाई हस्ताक्षर गर्न दबाव दिंदै नेपाललाई कुनै अमुक देशको सैनिक परेड स्थलको रुपमा परिणत गर्न खोजेको र प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणमा अमेरिकाले प्रस्ताव गरेको एसपीपी सम्झौतामा हस्ताक्षर हुनसक्ने भएकोले, उक्तको मस्यौदामा हस्ताक्षर नगर्न नेपाल सरकारलाई चेतावनी समेत दिएको हो ।

साथै एसपीपी सम्झौता लागू गर्दै नेपाललाई सैनिक परेड स्थल बनाउने योजना विरुद्ध अनेरास्ववियुले कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।