दुई घण्टा खुलेको शेयर बजारमा झिनो गिरावट, ७३ करोड कारोबार हुदाँ १२ उपसूचक राताम्य

काठमाडौं । नेपाल सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेसँगै नेप्से आइतबार देखि शुक्रबार शेयर बजार खुल्ला राख्ने निर्णय गरेको थियो ।
नेप्सेले शुक्रबार शेयर बजार खुलाएर आइतबार बन्द गर्ने निर्णय गरेकोमा सरकारले आइतबारको बिदा खारेज गरेसँगै नेप्सेले आइतबार देखि शुक्रबारसम्म शेयर बजार खुल्ला राख्ने निर्णय गरेको हो तर शुक्रबार भने दुई घण्टा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र शेयर बजार खुला गर्ने भएको हो । साताको अन्तिम कारोबारको दिन भने शेयर बजार झिनो अंकले घटेको छ । केही महिना उता निरन्तर ओरालो लागेको शेयर बजारमा एक दुई दिन यता केही सुधार तथा झिनो गिरावट देखिएको छ ।
पूँजी बजारमा देखिएका समस्या समाधानका लागि लगानीकर्ताहरु आन्दोलित भइरहेका छन् । नेप्से आज ७.५७ अकंले घटेर १९७१.३६ बिन्दुमा बन्द भएको छ । साताको पाँचौ दिन नेप्से १२.५७ अकंले बढेर १९७८.९४ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको २३ लाख ५५ हजार १ कित्ता शेयर किनबेच हुदाँ ७३ करोड ६३ लाख १२ हजार १५७ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१८ रुपैयाँको कारोबार भएको थियो ।
आज नेप्से सामान्य अकंले घटेको भए पनि १२ उपसूचकमा राताम्य छाएको छ । शुक्रबार बैंकिङ समूहको ०.३७ प्रतिशत, ब्यापार समूहको ०.५८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६१ प्रतिशत, विकास बैंक समूहको ०.४२ प्रतिशत, हाइड्रोपावर समूहको ०.८२ प्रतिशत, फाइनान्स समूहको ०.५८ प्रतिशत, निर्जीवन बीमा समूहको ०.२३ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.१७ प्रतिशत, अन्य समूहको ०.५५ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.०४ प्रतिशत, जीवन बीमा समूहको ०.०४ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.५९ प्रतिशतले शेयर मूल्य घटेको हो । साथै, म्युचुअल फण्ड समूहको भने ०.०४ प्रतिशतले शेयर मूल्य बढेको हो ।