राप्ती हाइड्रोको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ७२ करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ?
काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आईपीओमा अन्तिम दिन सम्म १ अर्ब ७२ करोड ६५ लाख १५ हजार रुपैयाँ संकलन भएको छ । कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।
सीडीएसका अनुसार अन्तिम दिन (साउन १ गते) साँझ ५ बजेसम्ममा १५ लाख ३८ हजार ६८८ जनाले १ करोड ७२ लाख ६५ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ७.९३ गुणा बढी आवेदन हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । कम्पनीले निष्कासन गर्ने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ भने बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारण लगानीकर्तालाई आवेदन खुला गरेको थियो ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र सह निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।













