मन्दाकिनी हाइड्रोपावरको आईपीओ मंगलबार फाँडफाँट हुदैं, १५ लाख बढीको हात रित्तो
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीको आइपीओ मंगलबार (साउन १७ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडलका अनुसार आफ्नै कार्यालय नारायण नक्साल काठमाडौंमा मंगलबार दिउँसो ४ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।
यसको प्री–अलोटमेन्ट आइतबार (साउन १५ गते) सम्पन्न भएको जनाएको छ । मन्दाकिनी आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यो आइपीओमा १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जसमा १६ लाख १० हजार ९२६ जनाले १ करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १६.५३ गुणा बढी आवेदन हो ।
कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । यो मध्ये ५ प्रतिशत अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलप्रथा मध्यमबाट न्युनतम १० कित्ताको दरले वितरण हुनेछ । त्यस अनुसार एक लाख ९ हजार ३७४ जना आवेदकले मात्रै कम्पनीको शेयर पाउनेछन् ।
कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ ।













