शेयर बजारमा भित्री कारोबार गर्नेलाई प्रहरीको जिम्मा
काठमाडौं । नेपाल सरकारले शेयर बजारमा भित्री कारोबार गर्नेलाई प्रहरीको जिम्मा लगाउने निती अपनाउने भएको छ । संशोधनको लागि संघिय संसदको प्रतिनिधिसभामा पुगेको धितोपत्रसम्बन्धी ऐन २०६३ मा यस्तो प्रस्ताव गरिएको हो ।
विद्येयकमा भित्री कारोबार, झुट्टा कारोबार, मूल्यमा उतार चढाव गराउने कारोबार, धितोपत्र बजारलाई प्रभावित गर्ने कारोबार, झुक्याउने कारोबार, जालसाजीयुक्त कारोबारमा प्रहरीले अनुसन्धान गर्न सक्ने ब्यवस्था प्रस्ताव गरिएको हो । यदि विद्येयकमा कुनै परिवर्तन नभए आगामी दिनमा यस्ता घटनामा प्रहरीले हस्तक्षेप गर्नेछ ।
नेपाल धितोपत्र बोर्डले हालको ऐनमा रहेको दफा ७ को उपदफा (७) पछि उपदफा (८) थप्न प्रस्ताव गरेको छ । उपदफा (८) मा ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्षको पद रिक्त भएमा, उपदफा (७) बमोजिम नेपाल सरकारले निजलाई पदबाट हटाएमा वा निज निलम्बनमा परी बोर्डको कामकाज गर्न नमिल्ने भएमा बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्नेछ ।
त्यस्तै दफा (६) को ठाउँ ठाउँमा रहेका “दफा १०३ बमोजिम तहकिकात गर्दा तहकिकात गर्ने अधिकारीले” भन्ने शब्दहरुको सट्टा “यस ऐन बमोजिमको मुद्दामा अनुसन्धान गर्ने अधिकारीले” भन्ने शब्दहरु राख्न प्रस्ताव गरिएको छ।
विधेयकले दफा १०२ मा संशोधन गर्ने प्रस्ताव गरेको छ । दफा १०२ को उपदफा १ मा दफा ९१,९४, ९५,९६,९७,९८,९९ र १०० मा उल्लिखित कसूर सम्बन्धी मुद्दामा नेपाल सरकार वादी हुनेछ र त्यस्तो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची–१ मा समावेश भएको मानिनेछ भन्ने वाक्य राख्न प्रस्ताव गरिएको छ ।
दफा ९१ मा भित्री कारोबार, दफा ९४ मा झुट्टा कारोबार, दफा ९५ मा मूल्यमा उतार चढाव गराउने कारोबार, दफा ९६ मा धितोपत्र बजारलाई प्रभावित गर्ने कारोबार, दफा ९७ मा झुक्याउने कारोबारबारे, दफा ९८ र ९९ मा जालसाजीयुक्त कारोबार, र दफा १०० मा जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार बारेको ब्यवस्था छ । अब यी कसुरलाई मुलुकी फौजदारी कार्यविधि संहिताको अनुसूची १ मा राखेर सोहिअन्तर्गत कारवाही गर्न प्रस्ताव गरिएको छ ।


















