सेयर बजारको ओरालो यात्रा कायमै: आज पनि दोहोरो अंकले घट्यो, कारोबार रकम भने बढोत्तरी
काठमाडौं । मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन बजार २१.२२ अंकले घटेको हो ।
उक्त दिन बजार परिसुचक १९५१.७९ अंकको विन्दुमा पुगेर बन्द भएको छ ।आज म्युचुअल फण्ड ०.०६ अंकले वृद्धि भएको छ । यी बाहेकका सबै समूहहरु रातम्मे बनेका छन् ।
उक्त दिन कारोबार रकममा भने झिनो बढोत्तरी देखिएको छ । आज १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
उक्त दिन हिमालयन एभरेष्ट इन्स्योरेन्ससहित तीन कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज हिमालयन एभरेष्टको ९ करोड १४ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको रिदी पावरको ९ करोड ११ लाख ७० हजार र तेस्रो स्थानमा रहेको सानिमा माइ हाइड्रोपावरको ८ करोड ५५ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


















