निरन्तर सुस्ताउँदै सेयर बजार: कारोबार खुम्चिदैं ९० करोडमा आउँदा १२ उपसूचक राताम्य
काठमाडौं । शुक्रबार कारोबार हुने अन्तिम दिन पनि शेयर बजारमा सुधार देखिन सकेको छैन । नेपाल धितोपत्र बोर्डले शुक्रबारको कारोबार असोजदेखि नगर्ने निर्णय गरेसँगै आज शुक्रबार अन्तिम कारोबार भएको हो ।
बैंकहरुबीच लामो समयदेखि ब्याजदर निर्धारणमा हुँदै आएको भद्र सहमति भंग भएसँगै सेयर बजारमा बिहीबार पहिरो गएको थियो भने शुक्रबार पनि सोही कारणले शेयर बजार प्रभावित बनेको छ । सबै बैंक तथा वित्तीय संस्थाले असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ सोही कारण पनि आज शेयर बजार सुधारिन सकेको छैन ।
विगत ६ महिनादेखि ब्याजदर स्थिर राख्दै आएका वाणिज्य बैंकहरुबीचको भद्र सहमति भंग भएको थियो । नेपाल बैंकर्स एसोसिएसन (एनबीएल)ले बैंकहरुलाई राष्ट्र बैंकको नियमभित्र रहेर आफूखुसी ब्याजदर बढाउन वा घटाउन सक्ने छुट दिएको हो ।
उक्त निर्णय पछि लगानीकर्ता ब्याजदर बढ्ने डरले त्रसित भएका छन् । सोही कारणले आज पनि शेयर बजार सुधार तिर लम्किन सकेको छैन । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षमा लाभांश दिने क्षमता बलियो बनाएको र अब लाभांश सिजन सुरु हुन भएकाले शेयर बजार सुधार हुदै जाने आशामा बसेका लगानीकर्ताहरुले आज भने निराशा पैदा गरेको छ ।
शुक्रबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) १४.१० अकंले घटेर १९१०.३८ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ५७ अकंले घटेर १९२४.४८ बिन्दु बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीले २९ लाख १६ हजार २७१ कित्ता शेयर किनबेच हुदाँ ९० करोड ८१ लाख ८६ हजार ४८७ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १२ करोड ५६ लाख ५५ हजा। ७८७ रुपैयाँको कारोबार भएको थियो ।
त्यस्तै, आज सर्वाधिक शेयर किनबेच हुने कम्पनीमा रिडी पावर कम्पनी रहेको छ । कम्पनीको ४ करोड २३ लाख ३२ हजार रुपैयाँको कारोबार भएको हो । साथै, हिमालयन डिस्टलरीको ३ करोड २ लाख र नबिल बैंकको ३ करोड रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज सर्वाधिक कमाउने कम्पनीमा नबिल ब्यालेचड फण्ड २ रहेको छ । फण्डको आज ७.८७ प्रतिशतले शेयर बढेको हो । बुद्ध भुमि नेपाल हाइड्रोपावरको ६ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको ५.७५ प्रतिशतले शेयर बढेको हो ।

साथै, शुक्रबार मिर्मिर माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ५.५९ प्रतिशतले घटेको हो । साथै, रिभर फल्स पावरको ५.३१ प्रतिशत अपर सोलु हाइड्रो इलेक्ट्रिको ५.३० प्रतिशतले शेयर घटेको हो ।

त्यस्तै आज १२ उपसूचक राताम्य भएका छन् । म्युचुअल फण्डको शेयर मूल्य ०.०७ प्रतिशतले बढेको हो भने अन्य उपसूचक घटेका हुन ।



















