यो वर्षको लक्ष्मी पूजा शेयर कारोबारीका लागि खल्लो, पोहोरको तिहारपछि ४५ लाख सेयर धनीको सम्पत्ति साढे १३ खर्ब घट्यो
काठमाडौं । धनकी देवी लक्ष्मीको पूजा गर्ने दिन देशका ४५ लाख सेयर धनीहरू खासै खुसी छैनन् । अघिल्ला केही वर्षकोजस्तो रोमाञ्चक उत्सव यो वर्ष छैन । शेयरमा लगानी गर्नेहरूको सम्पत्ति भारी मात्रामा क्षय भएको छ । गत साल तिहारअघि नेप्से २८४९ अङ्कमा थियो । गत साल १७ कात्तिकमा ४० खर्ब ६ अर्ब नाघेको बजार पुँजीकरण यसपालि २६ खर्ब ७३ अर्बमा खुम्चिएको छ । बजारमा थुप्रै नयाँ सेयरसमेत थपिँदा पुँजीकरण यो स्तरमा झर्नु भनेको गत वर्षको तुलनामा मानिसहरूको सम्पत्ति आधा घट्नु हो ।
यद्यपि, तिहार सुरु हुनुअघि बजारले हरियो रङ भने बनाएको छ । १८५० को मनोवैज्ञानिक स्तरलाई पार गरेर नेप्सेले यो वर्षको तिहारलाई स्वागत गरेको छ । आइतबार एकै दिन १४.३५ अङ्क बढेपछि नेप्से १८५८ अङ्कमा उक्लिएको हो । गत साता लगातार ओरालो लागेको नेप्से परिसूचक आइतबार बढे पनि कारोबारमा भने सुधार हुन सकेन । आइतबार ५१ करोड ६८ लाखको शेयर किनबेच भएको छ ।
पछिल्ला प्रतिवेदनहरूले देशको शोधनान्तर घाटा क्रमशः कम हुँदै गएको र विदेशी मुद्राको ढुकुटीमा सुधार आइरहेको जनाएका थिए । यसले वित्तीय प्रणालीमा तरलता अभावको विद्यमान परिस्थिति सुधारिने आशा जागेको थियो । तर अहिले सरकारी ढुकुटी रित्तिँदै गएको र बैङ्कहरूले ब्याजदर बढाउन थालेको अवस्थाले सेयर बजारलाई निरन्तर ओरालो लाग्न दबाब दिएको छ । यसैको असर स्वरूप अहिले गत साता नेप्से चारै दिन ओरालो लागेको हो ।
कात्तिक लागेसँगै बैङ्कहरूले ऋणको ब्याज बढाउने खबर आएपछि सेयर बजारमा यसको नकारात्मक प्रभाव परेको छ । गत साता बैङ्क तथा वित्तीय संस्थामा तरलता बढ्न सक्ने अनुमान गरिए पनि त्यसो हुन सकेन । अहिले बैङ्कहरूले राष्ट्र बैङ्कबाट अन्तिम ऋणदाता सुविधाको प्रयोग गरेर पैसा ल्याउँदै लगानी गरिरहेका छन् । यही बेला सरकारको ढुकुटी ७० अर्बभन्दा बढी घाटामा गएको छ ।
सरकार कात्तिकबाटै आन्तरिक ऋण उठाउने तयारीमा लागेको छ । यसले बजारमा तरलता समस्या अझै बढ्न सक्ने र ब्याजदर पनि उकालो लाग्न सक्ने आकलन गरिएको छ । महँगीले दोहोरो अङ्क भेट्टाउने जोखिम पनि साथसाथै छ । चुनावका कारण आउँदा दिनमा महँगी र ब्याजदर अझै चुलिन सक्ने आकलन हुन थालेपछि सेयर बजारबाट पैसा निकाल्न हतारो गर्नेको सङ्ख्या बढी देखिएको छ ।
एक महिनाअघि दैनिक व्यापारमा १८ सय ११ अङ्कसम्म झरेको बजार त्यसपछि बिस्तारै बढ्ने प्रयासमा देखिए पनि दुई साताअघिदेखि ओरालो लाग्न थालेको थियो । यसले बजारको घट्दो क्रम अझै रोकिइसकेको छैन भन्ने देखाएको छ । पछिल्लो तीन महिनायता देखिएको घट्दो क्रम रोकिएपछि सेयर बजारले स्थिर बाटो लिन सक्ने आकलन छ । तर यसका लागि केही महिना कुर्नुपर्ने हुनसक्छ ।
रेखाचित्र विश्लेषणले अबको स्तरबाट बढीमा १० देखि १५ प्रतिशतसम्म बजार ओर्लन सक्ने सम्भावना देखाएको विश्लेषकहरूले बताएका छन् । तिहारपछि पनि सरकारी खर्च खासै बढ्ने आधार देखिँदैन । मङ्सिर पहिलो साता निर्वाचन तय भएकाले तिहारपछि वित्तीय प्रणालीमा भएको ठुलो पैसा बाहिरिने जोखिम रहन्छ । चुनावी व्यवस्थापनका लागि उम्मेदवार र तिनका सहयोगीले वित्तीय प्रणालीबाट पैसा निकाल्छन् । यसले अर्को डेढ दुई महिना अझै नगद अभाव चुलिन सक्ने देखिएको छ । यसको सिधा असर सेयर बजारमा पर्ने छ ।
















