प्रेमिल जोडीलाई दुःखको खबरः ‘भ्यालेन्टाइन डे’ मा गुलाबको फूल प्रतिबन्ध

काठमाडौं । यसपालीको भ्यालेन्टाइन ‘डे’ खल्लो बन्ने खबर छ । प्रेममा चुर्लुम्म डुब्न चाहने प्रेमिल जोडीहरुको लागि यसपटकको भ्यालेन्टाइन डे रङ्गीन र उत्सवमय हुन नसक्ने खतरा पनि उत्तिकै छ । कारणः ‘भ्यालेन्टाइन डे’ मा सरकारले गुलाफको फुललाई प्रतिबन्ध लगाएको छ ।
प्रेमको पर्व नेपालमा तर, करोडौं नेपाली पैसा विदेशमा पुग्ने विगत वर्षहरुको परिस्थितिलाई अन्त्य गर्दै सरकारले विदेशबाट गुलाफ आयातमा प्रतिबन्ध लगाएको हो । ‘प्रेमका नाममा डुब्न र उत्सव मनाउने नाममा नेपालबाट करोडौं रुपयाँ विदेश बाहिरिने अवस्थालाई बन्द गर्नु जरुरी देखियो’, कृषि मन्त्रालयका एक अधिकारीले गुलाफ आयात रोक लगाउनेबारे प्रतिक्रिया दिँदै भने ।
‘भ्यालेन्टाइन डे’को पूर्वसन्ध्यामा सरकारले यसरी विदेशबाट फ्रेस गुलाबको फूल ल्याउन रोक लगाउने निर्णय गरेको छ । कृषि मन्त्रालयले एक सूचना जारी गर्दै गुलाबको फूल आयात अनुमति रोक्का गर्ने निर्णय गरेको हो । बिहीबार एक सूचना जारी गर्दै मन्त्रालय मातहतको प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रल मातहतका नाका कार्यालयहरुलाई आयात अनुमति जारी नगर्न भनेको हो ।
नेपाल, भारत तथा चीन सीमाका १५ भन्सार कार्यालयका कार्यालयलाईहरु पत्राचार गर्दै केन्द्रले विशेष कारण भन्दै गुलाबको फूल आयातमा रोक लगाएको हो । यो सूचनासंगै पूर्वको काँकडभिट्टा देखि पश्चिमको गड्डा चौकी र उत्तरका कुनै पनि निकाबाट गुलाव आयात गर्न पाइने छैन् । ‘केन्द्र मातहतका सबै कार्यलयहरुबाट विशेष कारणले अर्को व्यवस्थमा नभएसम्म गुलाबको फूल आयात अनुमति जारी नगर्न हुन अनुरोध गरिन्छ’ परिपत्रमा भनिएको छ ।
प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले भने वनस्पतिजन्य रोगको जोखिमका कारण आयातमा तत्कालका लागि रोकिएको जनाएको छ । केन्द्रले यसलाई रोकिएको भन्दा पनि होल्ड गरिएको भनेर बुझ्न आग्रह गरेको छ । विरुवाजन्य चीजमा रोग र किराको सम्भावना भएपछि तत्काल आयातलाई रोकिएको केन्द्रका सूचना अधिकारी महेशचन्द्र आचार्यले बताए ।
‘नेपालमा गुलाब र अन्य बिरुवामा रोग आउने जोखिम देखियो । जोखिम अध्ययन पनि नभएका कारण अहिलेलाई रोकिएको हो’ उनले भने । यसबारे प्राविधिक समितिको बैठक बाँकी नै रहेकाले त्यसपछि मात्रै थप निर्णय हुने आचार्यले बताए । भन्सार विभागको विवरणअनुसार आर्थिक वर्षको पुससम्म नेपालले १३ लाख ३३ हजार रुपैयाँ बराबरको १० हजार ६१२ किलो गुलाबको फूल आयात गरेको छ ।
नेपाल फ्लोरिकल्चर एसोसिएनका जेबी तामाङले सरकारको निर्णयले बजारमा अब अभाव देख्न सक्ने बताए । एसोसिएसनकाअनुसार प्रणय दिवस आसपासमा नेपालमा झण्डै तीन लाख पिस (स्टिक) गुलाबको फूलको खपत हुन्छ । नेपालमा झण्डै २० हजार पिस मात्रै गुलाबको फूल उत्पादन हुने उनले बताए ।
गुलाफकै लागि करोडौं रुपैयाँ भारतीय बजारमा जाने गर्छ । यो प्रक्रिया हरेक वर्ष प्रेम दिवस आएसँगै चलिरहन्छ । यस वर्ष गुलाफको मूल्य प्रति ‘स्टिम’ १ सय रुपैयाँदेखि बुकेटसहितको साढे दुई हजार रुपैयाँसम्म पर्छ । हाल नेपालमा १० हजार हेक्टर जमिनमा गुलाफ उत्पादन हुने गरेको फ्लोरिकल्चर एशोसियशनले जनाएको छ ।
पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुवरी १४ तारिखमा पर्दछ तर उक्त दिनभन्दा एक हप्ता अघिदेखि नै यसलाई मनाउने प्रचलन रहेको छ । प्रेमको प्रतिक मानिले रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर मनाउने गर्दछन् ।

महंगो बन्दै प्रेम दिवस
प्रम दिवस सम्झिँदा जति रसिलो र मिठासपूर्ण छ, झन् उति महंगो बन्दै गइरहेको नमिठो तथ्य हामीमाझ छ । प्रणय दिवसको अवधिमा गतवर्ष करिब ४ करोड रुपैयाँको गुलाफको फूलको बिक्री भएको थियो । तर, यो वर्ष सरकारले विदेशबाट गुलाफमा रोक लगाएपछि माग अनुसारको गुलाफ अपुग हुने निश्चित छ ।
नेपाल फ्लोरिकल्चर एसोसिएसनले गत वर्षको भ्यालेन्टाइन डेमा बजारमा माग वर्षेनी बढ्दो भएको र अत्याधिक व्यापार भएको जनाएको हो । अघिल्ला वर्षहरुमा कोभिडले केही प्रभावित भएपनि गएको वर्षदेखि भने सर्वसाधारणहरु पहिले झैं निर्धक्क भएर हिँडडुल र जमघट गर्न थालेकाले व्यवसायीहरुले सोचेभन्दा बढी फूलको कारोबार भएको एसोसिएसनका कुमार कसजु श्रेष्ठले बताए । उनले भने ‘विगतमा भ्यालेन्टाइनमा गुलाफको बिक्री हामीले अनुमान गरेभन्दा राम्रो भयो ।’
अनुमान भन्दा बढी खपत
एसोसिएसनका अनुसार यो वर्ष करिब दुई लाख ५० हजार वटा स्टिम गुलाफ खपत हुने अनुमान गरेको छ । गतवर्ष माग दुई लाख स्टिम फूलको आयात भएकोमा यसवर्ष त्यसबाट बढ्नसक्ने एसोसिएसनको भनाइ छ । यसमा दुई लाख वटाभन्दा बढी आयतित गुलाफ र ५० हजार स्वदेशमा उत्पादित गुलाफ खपत हुनसक्ने रहेको छ । तर, स्वदेशमा उत्पादित गुलाफले मात्रै यसपटकको भ्यालेन्टाइन डे मनाउनुपर्ने बाध्यता प्रेमील जोडीहरुलाई भइदिनेछ ।
वषेनी माग र आयात आयात निरन्तर बढ्दै आए पनि स्वदेशी उत्पादन कम हुँदा हरेक वर्ष भ्यालेन्टाइन डे का लागि बजारको माग अनुसार गुलाफको आयातका लागि विदेशमा उत्पादित फुलमै भर पर्दै आउनुपरेको हो ।
सरकारले रोक नलगाउँदा भ्यालेन्टाइन डेका लागि भारतबाट यसवर्ष करिब तीन करोड रुपैयाँको फूलको आयात हुने अवस्था थियो । नेपालबाट यसरी करोडौं रुपमा बाहिरिनबाट जोगिएपनि प्रणय दिवसमा गुलाफको माग अत्याधिक हुनेहुँदा नेपालमा मात्रै उत्पादित गुलाफले भ्यालेन्टाइन डे मनाउनुपर्ने हुन्छ । जसका कारण फुलको मूल्य अत्याधिक बढ्न सक्ने देखिएको छ ।
एसोसिएसनका अनुसार बजारमा फूलको अभाव र मूल्य बढी हुँदा स्वदेशी गुलाफको बिक्री बढ्न गई आगामी वर्षहरुमा नेपालमै गुलाफ खेतीले उत्साहजनक वातावरण पाउनसक्ने सम्भावना बलियो देखिएको छ ।
अभाव हुँदा मूल्य बढ्ने, एउटा गुलाफकै मूल्य ३ हजार बढी पर्ने
गुलाफको फूलको माग धेरै हुँदा बजारमा अभाव नै सिर्जना हुनेछ । यसकारण व्यवसायीहरुले फूलको मूल्य एसोसिएसनले तोकेको भन्दा तीनगुणा रुपैयाँसम्म बढी लिनसक्ने अनुमान छ ।
एसोसिएसनले फूलको माग घटेको भन्दै मूल्य प्रति गुलाफ एकसय ५० देखि दुई सय रुपैयाँसम्म पर्नसक्छ । यो मूल्य पहिलेभन्दा एकसय रुपैयाँ बढी हो । गत वर्ष प्रतिगुलाफ ९० देखि एकसय १० रुपैयाँमा बिक्री भएको थियो । बजारमा पर्याप्त मात्रामा फूल नहुँदा ग्राहकका लागि महंगो मूल्य तिर्नुपर्ने हुनसक्छ ।
एक बुकेटकै तीन हजारसम्म
फ्लोरिकल्चर एशोसिएसन नेपालका महासचिव विश्वमणि पोखरेलका अनुसार सजिएको एउटा गुलाफको बुकेटको मूल्य २ हजार ५ सय रुपैयाँसम्म पर्न जान्छ । अन्य धेरै वस्तुहरुको मूल्य बढेको कारण यस वर्ष फूलको मूल्य पनि बढेको व्यवसायीहरु बताउँछन् । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ पुस महिनामा वार्षिक विन्दुगत थोक मूल्यवृद्धि ९.८२ प्रतिशत रहेको छ ।
‘स्टिम’ गुलाफको मूल्य गत वर्षको तुलनामा केही बढेको उनको भनाइ छ । फूलको गुणस्तर हेरेर मूल्य तय हुने उनले बताए । प्रयाप्त मात्रमा स्वदेशमा फूल उत्पादन नहुँदा विदेशबाट आयात गर्नु पर्ने बाध्यतामाथी झन् सरकारले रोक लगाएपछि फुलको संकटसँगै मूल्यपनि अधिक हुने स्थिति छ । पछिल्लो समय काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेमा मात्र व्यवसायिक रुपमा गुलाफ उत्पादन हुन्छ ।
उपत्यकामा ६० प्रतिशत गुलाफको माग
हरेक वर्ष गुलाफको माग भ्यालेन्टाइन डेको अवसरमा बढी हुन्छ । अन्य समयमा दैनिक ८ हजार गुलाफको माग हुनेमा भ्यालेन्टाइन डेको अवसरमा भने करिब २ लाख ५० हजारभन्दा बढी फूलको माग हुन्छ ।
गुलाफ तथा अन्य फूलको खपत ठूलो परिमाणमा उपत्यकामा हुने गरेको छ । ६० प्रतिशत फूलको व्यापार काठमाडौं उपत्यकामा हुन्छ भने ४० प्रतिशत उपत्यका बाहिरका पोखरा, बिराटनगर र बुटवल लगायतमा हुन्छ । जाडो समयमा राम्रोसँग फूलको उत्पादन नहुने भएकाले भ्यालेन्टाइन डेको समयमा मात्र भारतबाट गुलाफको फूल आयात अत्याधिक हुने गरेको थियो ।
व्यावसायिक खेतीतर्फ आकर्षण
बजारमा स्टिम फूलभन्दा कृत्रिम फूल सस्तो मूल्यमा पाइन्छ । सस्तो पाइने हुनाले उपभोक्ताले कृत्रिम फूल खरिद गर्दा स्टिम फूलको व्यापारलाई असर परेको छ । यस कारण एसोसिएसनले व्यवसायिक रुपमा फूलको खेती गर्ने जनाएको छ ।
उत्पादन बढी हुन सके स्टिम फूलको मूल्य कृत्रिम जत्तिकै सस्तोमा पाइने छ । हाल बजारमा कृत्रिम फूल प्रति पिस ३० देखि ४० रुपैयाँ पर्छ ।