बीमा प्राधिकरणको अध्यक्षका लागी ५ जना छानिए, कसले बाजी मार्ला ?  « Arthapath.com
५ फाल्गुन २०८१, सोमबार

बीमा प्राधिकरणको अध्यक्षका लागी ५ जना छानिए, कसले बाजी मार्ला ? 



काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको लागी पाँच जनाको सर्टलिष्ट सूची प्रकाशन भएको छ ।  सरकारद्वारा गठित सिफारिस समितिको फागुन ४ गतको बैठकले ५ जनाको नाम सर्ट लिस्ट गरेको हो । 

अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिको निर्णयअनुसार कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन् ।

छनोटमा परेका ५ जनाको अन्तर्वार्ता यही फागुन १० गते अर्थ मन्त्रालयमा हुने प्रकाशित सूचनामा जनाइएको छ । समितिले पुस २६ गतेदेखि माघ ११ गतेसम्म अध्यक्षको आवेदन दिन सक्ने गरी विज्ञापन प्रकाशन गरेको थियो । 

प्राधिकरणको अध्यक्षको लागी छनोटमा परेका ५ जनामध्ये ३ जनाको नाम समितिले मन्त्रीपरिषद्मा पठाउनेछ । त्यसमध्येबाट सरकारले १ जनालाई प्रस्तुतीकरणको आधारमा अध्यक्ष छनोट गर्नेछ । 

को–को छन् सर्टलिस्टमा ? 

छनोटमा परेका कमल प्रसाद रेग्मी बीमा प्राधिकरणमा निर्देशक हुन्  भने चापागाईँ साबिक बीमा समितिका पूर्व अध्यक्ष हुन् । बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक र पुडासैनी नेपाल सरकारका पूर्व सचिव तथा हाल कृषि विकास बैंकको अध्यक्ष पनि हुन् । ओझा स्नातक तहमा व्यवस्थापनसम्बन्धी विषयको अध्यापन गर्छन् भने अधिवक्ता, वित्त परामर्शदाता र पत्रकार पनि हुन् ।


प्रतिक्रिया दिनुहोस्