यी ४ लघुवित्तले ऋणपत्र जारी गर्न पाउने « Arthapath.com
१२ मंसिर २०७८, आईतवार

यी ४ लघुवित्तले ऋणपत्र जारी गर्न पाउने



काठमाडौं । थोक कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाले सहायक आवधिक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘घ वर्गका इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । सञ्चित नोक्सानी बाँकी नरहेका थोक कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाले यससम्बन्धी अन्य व्यवस्थाका अतिरिक्त निम्न शर्तहरुको अधीनमा रही आफ्नो चुक्ता पुँजीको बढीमा २५ प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन पेश गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार अब लघुवित्तहरूले ऋणपत्र कुनै पनि सुरक्षण नराखी निष्काशन गर्नुपर्ने, ऋणपत्रको अवधि तोकेको हुनुपर्ने, ऋणपत्रमा प्रदान गरिने वार्षिक ब्याजदर र ब्याज भुक्तानी गर्ने अवधि तोकिएको हुनुपर्ने, ऋणपत्रको ब्याजदर परिवर्तन गर्न नपाइने र आर्जित ब्याज रकममा आयकर ऐन, २०५८ बमोजिम आयकर लाग्ने व्यवस्था गर्नुपर्ने छ ।

त्यस्तै, इजाजतपत्रप्राप्त संस्था विघटन भएको अवस्थामा ऋणपत्रको भुक्तानी निक्षेपकर्ता र अन्य ऋण भन्दा पछि मात्र हुने छ । ऋणपत्र जारी भएको मितिले ६ महिनाभित्रमा नेपाल धितोपत्र विनिमय बजारमा सूचीकृत गर्नुपर्ने, ऋणपत्र निष्काशन गर्नु अघि तयार गरिने विवरणपत्र नेपाल राष्ट्र बैंकको सहमति लिएर मात्र प्रकाशित गर्नुपर्ने छ ।

ऋणपत्रको रकम भुक्तानी गर्न सिर्जना गरिने पुँजी फिर्ता जगेडा कोषमा भुक्तानी अवधिभर प्रत्येक वर्ष वार्षिक मुनाफाबाट समानुपातिक आधारमा रकम छुट्याउनु पर्नेछ । तर, ऋणपत्र निष्काशन गरिएको आर्थिक वर्ष र भुक्तानी हुने आर्थिक वर्ष त्यस्तो भुक्तानी कोषमा कुनै रकम विनियोजन नगर्न यस व्यवस्थाले बाधा पर्ने छैन् ।

प्राइभेट प्लेसमेन्टको आधारमा बिक्री गरिने ऋणपत्रको सम्बन्धमा कुनै संघरसंस्थासँग अग्रिम कुनै सम्झौता भएको भए सो सम्झौताको प्रतिलिपि पेश गर्नुपर्ने छ । यदि कुनै पक्षले सो पक्षलाई छुट्याइएको ऋणपत्र खरिद नगरेमा सो अर्को पक्षलाई बिक्री गर्ने व्यवस्था गर्नुपर्ने र ऋणपत्रमा आर्जित ब्याज लगानीकर्ताहरुलाई भुक्तानी गर्ने विषयमा विवरणपत्रको “ब्याज भुक्तानी गर्ने समय” शीर्षक अन्तर्गत स्पष्ट उल्लेख गर्नुपर्ने बैंकले जनाएको छ ।

राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार ४ वटा लघुवित्तले मात्रै थोक कारोबर गर्ने गरेका छन् । संचालनमा रहेका लघुवित्तमध्ये आरमएडीसी, आरएसडीसी, फर्स्ट माइक्रोफाइनान्स र सानाकिसान लघुवित्तले मात्रै थोक कारोबार गर्दै आएका छन् । यी ४ वटा लघुवित्तले ऋणपत्र जारी गर्न स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेश गर्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्