यसकारण नेप्सेको सीईओ नियुक्तिमा ढिलाई « Arthapath.com
२ माघ २०७८, आईतवार

यसकारण नेप्सेको सीईओ नियुक्तिमा ढिलाई



काठमाडौं । लामो समयपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाउने भएको छ । गत भदौदेखि सीईओ विहीन भएको नेप्सेले यसै महिनाभित्र सीईओ पाउने निश्चित छ । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्च (नेप्से) का पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले भदौ ८ गते राजीनामा दिएका थिए । झण्डै ५ महिनादेखि सीईओविहीन रहेको नेप्से अब बस्ने मन्त्रीपरिषदको बैठकले सम्भवतः सीईओ नियुक्त गर्ने भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ३ जनाको नाम सिफारिस गरिएको छ । आवेदन दिएकामध्येबाट पौष २६ गते दोस्रो चरणमा ३ जनाको नाम सिफारिस गरिएको थियो । छनोटमा परेका ३ जनामा कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ र डा. रमेशकुमार भण्डारी रहेका छन् ।

सिफारिसमा परेका ३ जनामध्ये रमेश कुमार भण्डारीले व्यवस्थापनमा स्नातकोत्तर र भारतको पुने विश्वविद्यालयबाट पुँजी बजारमा विद्यावारिधि गरेका छन् । ग्रोमर मर्चेन्ट बैंकिङका संस्थापक प्रमुख कार्यकारी रहेका उनी आरबीबी मर्चेन्ट बैंकिङमा पनि प्रमुख कार्यकारी अधिकृतमा काम गरेको अनुभव छ । भण्डारी हाल सिन्धु विकास बैंकका सञ्चालक रहेका हुन् ।

यता कृष्णबहादुर कार्की सिंचाइ मन्त्रालयबाट सेवानिवृत्त पूर्वउपसचिव हुन् । सिफारिसमा परेका ३ जना मध्येबाट कार्की हाल बूढीगण्डकी हाइड्रोपावर प्रोजेक्टका संयोजक छन् ।

त्यस्तै, ३ जनामध्यबाट सिफारिसमा परेका केशवप्रसाद श्रेष्ठ सेभ द चिन्ड्रेनका वरिष्ठ निर्देशक हुन् । श्रेष्ठ नेपाली पैसा इटकमका अध्यक्ष समेत हुन् । श्रेष्ठले सेयर बजार सम्बन्धमा प्रशिक्षण दिँदै आएका छन् । श्रेष्ठ केयर नेपालका पूर्व वित्त निर्देशक पनि हुन् ।

यी ३ जनामध्येबाट एक जना नेप्सेको सीईओ बन्ने छ । अर्थमन्त्रालयले मन्त्रिपरिषदको बैठकमा पेश गरेपछि एक जनालाई ४ वर्षका लागि नेप्सेको सीईओमा नियुक्त गर्नेछ । सिफारिस समितिले एक साता अघि नै नेप्सेको सीईओका लागि ३ जनाको नाम सिफारिस गरेको थियो । तर सरकारले हालसम्म यी ३ जनामध्येबाट कसलाई सीईओ नियुक्त गर्ने भनेर निर्णय गर्न सकेको छैन् ।

प्रधानमन्त्रीले आफू निकटकालाई नेप्सेको सीईओ बनाउन खोज्दा ढिलाई भएको स्रोत बताउँछ । यता अर्थमन्त्री जनार्दन शर्माले निष्पक्ष रुपमा नेप्सेको सीईओ नियुक्त गर्न खोज्दा प्रधानमन्त्री शेर बहादुर देउवाले हस्तक्षेप गरेको स्रोतले दावी गरेको छ । अर्थमन्त्रालयले ३ जनाको नाम मन्त्रीपरिषदमा सिफारिस गरिसकेको छ । त्यसैले अब प्रधानमन्त्रीले जसलाई पनि नियुक्त गर्न सक्छन् ।

मन्त्रीपरिषदको रेगुलर बैठक मंगलबार बस्छ तर कोरोना महामारीले गर्दा बैठक बस्ने वा नबस्ने भनेर अनिश्चित रहेको छ । यता प्रधानमन्त्री पनि आइसोलेशनमा रहेकाले निर्णय हुन सकेको छैन् । यदि मन्त्रीपरिषदको बैठक छिट्टै बस्ने हो भने नेप्सले पनि छिट्टै सीईओ पाउनेछ ।

अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले ११ जना आवेदकहरुमध्येबाट नेप्सेको सीईओका लागि ५ जनाको नाम सर्ट लिस्टमा सार्वजनिक गरेको थियो । समितिले कृष्ण बहादुर कार्की, डा. केशव बहादुर श्रेष्ठ, प्रविण पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारीको नाम सर्ट लिस्ट गरेको थियो । समितिले पौष २५ गते आइतबार अन्तवार्ता लिएको थियो ।

सीईओ बन्नका लागि जम्मा ११ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमा नेप्सेका हालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल, उपप्रबन्धक प्रविन पन्दाक, जीवन अमगाई, डा. रमेश कुमार भण्डारी, डा.केशव कुमार श्रेष्ठ, रमेश घिमिरे, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, बद्री प्रसाद प्याकुरेल, र छवीराज पन्त रहेका थिए ।

अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल थिए ।


प्रतिक्रिया दिनुहोस्