गलकोट नगरपालिकाको खर्चमा छैन मितव्ययिता कायम, खाना खाजा र भ्रमणमै सक्यो ५० लाख !

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले खर्चमा मितव्ययिता कायम नगरेको पाइएको छ । पालिकाले एक वर्षमै खाना खाजा तथा भ्रमणमै आधा करोड अर्थात् ५० लाख खर्च गरेको पाइएको हो ।
एक वर्षमा पालिकाले खाना खाजामै साढे १८ लाख खर्च गरेको हो । पालिकाले एक वर्षमा खाना तथा विविध खर्च शीर्षकमा १८ लाख ५८ हजार रुपैयाँ खर्च गरेको छ । महालेखापरीक्षक कार्यालयबाट प्राप्त गत आर्थिक वर्ष २०७९÷८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ । तर, गलकोट नगरपालिकाले भने गत वर्ष विविध शीर्षकबाट १८ लाख ५८ हजार रुपैयाँ खाना खाजा लगायत विविधक कार्यक्रममा खर्च गरेको छ । खर्चको प्रमण हेर्दा विल मात्र आएको कार्यालयले जनाएको छ । त्यस्ता प्रकारको खर्च विभिन्न वडा तथा पालिकामा विषयगत शाखाका कार्यक्रममा खर्च भएको पालिकाले जानकारी गराएको प्रतिवेदनमा उल्लेख छ । यस्तो प्रवृतिमा नियन्त्रण गरि खर्चमा मितव्ययिता कायम गर्नुपर्ने महालेखा औल्याएको छ ।
अनुगमन भन्दै साढे ३१ लाख स्वाहा, भ्रमणको छैन सदुपयोग
पालिकाले अनुगमन तथा भ्रमणमा साढे ३१ लाख खर्च गरेको पाइएको छ । भ्रमणको उदेश्य, अनुगमन तथा भ्रमण प्रतिवेदन, अभिलेख, दुरीको विवरण सवारी साधनको टिकट नै नराखी ३१ लाख ४४ हजार रुपैयाँ खर्च गरेको महालेखाले जनाएको छ ।
भ्रमण खर्च नियमावली, २०६४ को नियम २१ मा भ्रमणमा खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण गरेपछि सो को अभिलेख अनुसूची ६ को ढाँचामा राख्नुपर्ने तथा भ्रमणलाई विश्वासनीय बनाउन आवश्यकताअनुुार आन्तरिक नियन्त्रण प्रणालीको थप व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
नियम १९ मा जिल्लाभित्रको ठाउँको दुरीको विवरण राख्नुपर्ने उल्लेख छ । तर, पालिका कार्यालले गत वर्षको विषयगत शीर्षक तथा कन्टिन्जेन्सी बाहेक चालु खर्च शीर्षकबाट ३१ लाख ४४ हजार रुपैयाँ खर्च लेखेको प्रतिवेदनमा उल्लेख छ। यसले अनुगमन तथा भ्रमणको सहि सदुपयोग भएको भन्ने आधार नरहेको महालेखाले उल्लेख गरेको छ। त्यसमा सुधार गर्न पालिकालाई सुझाव दिएको छ ।